पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने नहुने विषयमा निर्णय गर्न मंगलबार बोलाइएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको पदाधिकारी बैठक बिना निष्कर्ष टुंगिएको छ। सरकारमा जानुपर्ने र नपर्ने दुई खाले धारणा आएपछि बैठक बुधबार बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको हो।
सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार फेरि बस्ने बैठकले उक्त विषयबारे निर्णय गर्नेछ। एकथरी पदाधिकारीले सरकारमा जानुपर्छ र अर्काथरीले जानुहुन्न भनेपछि बैठकमा चर्काचर्की भएको थियो।
स्रोतका अनुसार उपाध्यक्ष निरञ्जन थापा, टंक ढकाल, रामकुमार सुब्बा, गीताभक्त जोशी, राजाराम श्रेष्ठ, शेखर कोइराला, मनोज प्रधान, गोपाल किरातीलगायत नेताले सरकारमा जानुपर्छ भनी धारणा राखेका थिए।
केन्द्रीय सदस्य बाबुकाजी प्रधान, जिलनाथ गिरी, सुशील श्रेष्ठ, लगायतले सरकारमा जान नहुने बरू पार्टी राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणमा जुट्नुपर्ने बताएका थिए। जानुपर्छ भन्ने धारणामाथि प्रतिवाद भएपछि बैठकमा केहीबेर चर्काचर्की भएको थियो।
‘अहिले दुई खाले धारणा छन्, सरकारमा जानुपर्छ भन्ने र जानु हुँदैन भन्ने, त्यस विषयमा निर्णयमा पुग्न नसकेपछि बैठक स्थगित भयो,’ सहप्रवक्ता श्रेष्ठले भने।
सिंहदरबारमा बसेको बैठक तीन घन्टा चलेको थियो। २४ जना पदाधिकारीले धारणा राखेका थिए। विषयवस्तुमाथि प्रवेश गर्दै अध्यक्ष कमल थापाले अहिले पार्टी धर्मसंकटमा रहेकाले सरकारमा सहभागी हुने सम्भावनाबारे धारणा माग गरेका थिए।
‘यही बेला राप्रपासँग एकता गरेर राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुछ। अब आठ महिनामा तीन वटा चुनाव छन्, त्यसैले हामी धर्मसंकटमा छौं,’ थापाले भने। सरकारमा जानु हुँदैन भन्ने पदाधिकारीले पार्टी एकता र राष्ट्रवादी शक्ति निर्माणमा जोड दिएका थिए।
नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री उम्मेदवार पुष्पकमल दाहालले अध्यक्ष थापालाई भेटेर सरकारलाई सहयोग गर्न आग्रह गरेपछि राप्रपा नेपालले पदाधिकारी बैठक बोलाएको थियो।