प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो शपथलगत्तै मिडियासँग भनेकी थिइन्, ‘तीन जना त यस्ता राम्रा न्यायाधीश छन् तिनको इमान र क्षमतामा शंका गर्न सकिँदैन। आनन्दमोहन हुनुभो, विश्वम्भरजी, ईश्वरजी पनि धेरै अध्ययनशील हुनुहुन्छ।’
न्यायपरिषदले सिफारिस गरेका यी व्यक्ति नियुक्त भए नयाँ संविधानका विवाद र कार्यान्वयनमा आउने जटिलता हल गर्न सर्वोच्च अदालतलाई गाह्रो नहुने उनले बताएकी थिइन्।
परिषदले चार महिनाअघि सिफारिस गरेका ११ जनालाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरी राष्ट्रपतिले नियुक्त गरिसकेपछि सर्वोच्च अदालतमा बल्लतल्ल न्यायाधीशको पदपूर्ति भएको छ। संविधानअनुसार २१ जना न्यायाधीश हुनुपर्नेमा २० जना सर्वोच्च अदालतले पाएको छ।
वरिष्ठ अधिवक्ताबाट परिषदले सिफारिस गरेका व्यक्तिबारे निकै विवाद भए पनि मुख्यन्यायाधीशबाट छानिएकाहरू विवादमा परेनन्। तीमध्ये तीन जना (आनन्दमोहन भट्टराई, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडा) को त प्रधानन्यायाधीशले सार्वजनिक रूपमै प्रशंसा गरिन्।
न्यायक्षेत्रमा पनि यी तीन न्यायाधीश सर्वोच्चका लागि निकै अब्बल भएको धेरैको धारणा पाइन्छ। कर्मचारीदेखि समकक्षी न्यायाधीशहरूसमेत यी तीन जनालाई धेरै हिसाबले राम्रो मान्छन्।
‘हुन त योग्य र सक्षम नभई कोही सर्वोच्चसम्म पुग्न सक्दैन तर विश्वम्भर, ईश्वर र आनन्दमोहन भने निकै अब्बल हुनुहुन्छ,’ एक न्यायाधीशले भने।
उनका अनुसार आनन्दमोहन अध्ययनशील छन् भने ईश्वर आफ्नो निर्णयमा अडिग रहन सक्ने र विश्वम्भर जस्तोसुकै मुद्दामा एकदमै गहिराइमा पुगेर सजिलै बुझ्नसक्ने गरी फैसला गर्ने छुट्टाछुट्टै विशेषता छन्।
विश्वम्भर श्रेष्ठ
आफूकहाँ आएका जस्तासुकै मुद्दा मसिनो गरी केलाउँदै त्यसको गहिराइसम्म गएर हेर्न सक्ने भन्दै न्याय क्षेत्रमा उनको क्षमताको परख गरिन्छ। ‘यसरी मुद्दालाई गहिरो अध्ययन गर्न सक्ने न्यायाधीशले त्यसका सबै आयाम बुझ्छ र न्याय पाउने मानिस पनि सन्तुष्ट हुन्छ। उहाँको विशेष क्षमता यही हो,’ एक न्यायाधीशले भने, ‘हामी पनि उहाँबाट यही कुरा सिक्न खोज्छौं।’
श्रेष्ठ मुख्य न्यायाधीश हुँदा रोलक्रममा १० नम्बरमा थिए। पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीशबाट उनलाई सर्वोच्च अदालतमा ल्याइएको थियो। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पत्याएका न्यायाधीश भनेर अदालतमा उनीबारे चर्चा हुन्छ। अहिले नियुक्त भएका न्यायाधीशमध्ये क्याडरबाट नियुक्त भएका यिनै मात्र प्रधानन्यायाधीशको रोलक्रममा छन्। उनी एक वर्ष प्रधानन्यायाधीश हुने छन्।
२०४१ पुस महिनाबाट न्यायसेवामा प्रवेश गरेका उनी ०५० सालमा जिल्ला न्यायाधीश भएका हुन्। न्याय परिषदका अनुसार न्यायाधीशका रूपमा उनको पहिलो पोस्टिङ उदयपुर जिल्ला अदालतमा भएको थियो। त्यसपछि मकवानपुर, झापा, काठमाडौंजस्ता जिल्लामा पनि जिल्ला न्यायाधीशका रूपमा काम गरे।
जिल्ला न्यायाधीश भएको १२ वर्षपछि मात्र उनी पुनरावेदन अदालतको न्यायाधीश बने। बाग्लुङ, पाटन र पोखराका पुनरावेदन अदालतमा न्यायाधीश भएपछि हेटौंडा पुनरावेदन अदालतमा उनी मुख्य न्यायाधीश भएका थिए। देवानी, फौजदारीबाहेक वाणिज्यसम्बन्धी मुद्दामा पनि उनी दखल राख्छन्।
ईश्वर खतिवडा
२०४६ सालको आन्दोलनपछि सरकारले धमाधम राजनीतिक मुद्दा फिर्ताको सिफारिस गथ्र्यो। त्यसलाई अदालतले स्वीकृति दिएपछि मात्रै त्यो मुद्दा फिर्ता हुन्थ्यो। यसरी सरकारले फिर्ता गर्ने निर्णय गरेको एउटा मुद्दा भने खतिवडाको इजलासले अस्वीकार ग¥यो। उनी मुद्दा फिर्तालाई अस्वीकार गर्ने पहिलो जिल्ला न्यायाधीश भनेर न्यायाधीशहरूले चिन्ने गरेका छन्। त्यो बेला उनी सिन्धुलीको जिल्ला न्यायाधीश थिए।
‘उहाँ आफ्नो निर्णयमा एकदमै अडान लिन सक्ने मान्छे हो। फैसला गर्दा पनि उहाँ आफ्नो निर्णयमा हतपत सम्झौता गर्नुहुन्न,’ पुनरावेदन अदालतका एक न्यायाधीशले भने।
२०५१ सालमा उनी जिल्ला न्यायाधीश भएका हुन्, जबकि २०३९ चैतबाट उनी न्यायसेवामा प्रवेश गरेका हुन्। जिल्ला अदालत सिन्धुलीपछि उनी काठमाडौं, पर्सा, चितवनमा जिल्ला न्यायाधीश भए। २०६२ सालमा पुनरावेदन अदालतको न्यायाधीश भएका थिए। पुनरावेदन न्यायाधीशका रूपमा उनको पहिलो पोस्टिङ बाग्लुङमा भयो। त्यसपछि पाटन, बुटवल र दिपायलमा काम गरे। राजविराजमा मुख्य न्यायाधीश हुँदाहुँदै उनी सर्वोच्चमा सिफारिस भएका हुन्।
धेरै अध्ययनशील र भाषण राम्रो गर्न सक्ने न्यायाधीशका रूपमा पनि उनलाई धेरैले चिन्छन्। देवानी र फौजदारी विषयमा उनको दख्खल छ।
आनन्दमोहन भट्टराई
उनी एकेडेमिक ज्ञान भएका न्यायाधीशका रूपमा चिनिन्छन्। पिएचडीसम्म गरेका छन्। अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सम्बन्ध भएका न्यायाधीश हुन्। न्यायालयको रणनीतिक योजना बनाउने टिममा बसेर न्यायलय सुधारको काम गरेको अनुभव उनीसँग छ। वातावरण कानुनका विज्ञ पनि हुन्।
२०३९ सालमा न्यायसेवामा प्रवेश गरेका उनी ०५१ सालमा जिल्ला न्यायाधीश भएका थिए। स्याङ्जा, काठमाडौं, मनाङमा जिल्ला न्यायाधीशको रुपमा काम गरेपछि २०६२ सालमा उनी पुनरावेदन अदालत जुम्लाको न्यायाधीश भए।
त्यसपछि हेटौंडा पाटन विराटनगर पुनरावेदनमा काम गरे। उनलाई पाटन पुनरावेदन अदालतको न्यायाधीशबाट सर्वोच्च अदालतमा सिफारिस गरिएको हो।