अविरल वर्षाका कारण पूर्वी इलामको जिर्मले–५ को रम्भ्याङ गाउँ पहिरोको जोखिममा परेको छ।
एकवर्ष अघि पनि सोही ठाउँमा भीषण वर्षाका कारण पहिरो गएको थियो। यसपालिको वर्षाले पनि सोही गाउँमा पहिरो जाँदा छ घर उच्च जोखिममा परेका छन् भने अन्य ठाउँमा धाँजा फाटेको छ।
जिर्मलेको तल्लो क्षेत्रमा रहेको सिद्धि खोलासँगै जोडिएर करिब एक किलोमिटर जति लामो पहिरो गई अमृत राई, टीकाबहादुर राई, केशर सापकोटालगायतको घर नजिकै आइपुगेका कारण ती घर पहिरोको उच्च जोखिममा छन्।
त्यहाँबाट ५० मिटरको दूरीमा पर्ने विक्रम राई, गङ्गाबहादुर राई र भुपेन राईको घर पनि जोखिममा छन्। पहिरोले हालसम्म करिब २०० रोपनी बारी बगाइसकेको छ।
पहिरोले बुद्धिमान राई, सुरेश राई, गुमान सिंह राईको अलैँची र अम्लिसोबारी र धानखेत पूर्णरूपले बगाएको छ भने डिल्लीबहादुर राईको अलैँची बारी र ठूलो खेत समेत फुटेर धाँजा परेको कारण जोखिममा रहेको स्थानीय डिल्लीबहादुर राईले जानकारी दिए।
पहिरोको बीचमा ठूलो पानी उम्रिएको र अहिले पनि पहिरोमा लेदो बगिरहेका कारण रातभर जाग्राम बस्नुपर्ने परिस्थिति सिर्जना भएको राईले बताए। पहिरोको करिब ५०० मिटर माथि आले गाउँसम्म धाँजा फाटेका कारण सिङ्गो गाउँनै असुरक्षित बनेको छ। ‘छिमेकीले घर सर्ने सल्लाह दिने गरेका छन् तर सबै कुरा छाडेर कहाँ र कसरी जानु,’ स्थानीय अमृत राई बताउँछन्।
पहिरोको जोखिमको कारण नजिकै रहेको ठूलो खेतमा समेत रोपाइँ गर्न नसकिने अवस्था आएको स्थानीय सुरेन राईको भनाइ छ। धाँजा परेको भाग बगेर जाने हो भने जिर्मले–५ को सिङ्गो गाउँनै सखाप हुने सम्भावना रहेको स्थानीयको भनाइ छ।
पहिरोले गाउँनै जोखिममा परेपनि जिल्लाबाट सुरक्षा निकायको टोली नपुगेको स्थानीयको गुनासो छ। पहिरोले हालसम्म करिब ३० मन उत्पादन हुने जति अलैँची बगान तथा अम्लिसो बारी बगाइसकेको छ। रासस