दृष्टिविहीन भएकै कारण परिवारबाट अपहेलित भएकी सुशीला गिरी आर्थिक अभावका कारण अध्ययनबाट वञ्चित भएकी छन्। सुशीला यतिबेला शिक्षाको ज्योतिका लागि सहयोगी हातहरुको खोजीमा छन्।
२०७० सालमा झुवानी मावि चितवनबाट ६२ अंकका साथ प्रथम श्रेणीमा एसएलसी पास गरेकी सुशीलालाई उच्च शिक्षाका लागि परिवारले खर्च व्यवस्था नगरेपछि उच्च शिक्षा अध्ययनबाट वञ्चित भएकी हुन्।
जन्मिएको ६ महिनामै आमाको मृत्यु भएपछि बाबुले कान्छी आमा ल्याएपछि परिवारबाट हेला भएको र सहयोग खोज्दै सुशीला ५ महिना अघि बुटवल आएकी हुन्। बुवा, कान्छी आमा र कान्छी आमातर्फका बहिनी भरतपुर–११ मा रहेको घरमा रहेपनि आफ्नो बारे कुनै सोधिखोजी गर्ने नगरेको उनी दुखेसो पोख्छिन्।
हाल रुपन्देही नेत्रहिन संघले बुटवल–१४ तामनगरमा संचालन गरेको अपाङगता पुनःस्थापना केन्द्रको आश्रयमा रहेर अगरवत्ति बनाउने सिप सिक्दै गरेकी सुशीलाले कुनै सहयोगी पाए उच्च शिक्षा अध्ययन गर्ने धोका रहेको बताइन्।
रुपन्देहीमा आएपछि आफुजस्तै दृष्टिविहीन व्यक्तिको सम्पर्कमा पुगेकी उनी आफूजस्ता धेरै समाज र राज्यसंगै परिवारबाट समेत अपहेलित हुनुपरेको दुःखेसो गरिन्। बुवा आमामा आँखाको कुनै समस्या नभएपनि आफुले जन्मजात दृष्टि गुमाएको बताउने उनले दृष्टिविहीनलाई परिवारले नै बोझ सम्झिदा उनीहरु घरभित्रै गुम्सिएर बस्न बाध्य भएको दुखेसो पोखिन्।
एकातर्फ आँखा नदेख्नुको पीडा त छदैछ अर्को तर्फ कमजोर आर्थिक अवस्थाका कारण चाहेर पनि अध्ययनलाई अगाडि बढाउन नसकेकी सुशीलाले पढ्न पाए भविश्यमा शिक्षक बनेर शिक्षाको ज्योति पाउनबाट वञ्चित गरिब विद्यार्थीहरुलाई ज्ञानको ज्योति छर्ने धोको रहेको बताउँछिन्।
दृष्टिविहीनले अध्ययन गर्ने ब्रेल लिपी अन्य स्टेशनरी सामानभन्दा महंगो पर्ने भएकोले पनि अध्ययनको खर्च जुटाउन गाह्रो भएको उनी बताउँछिन्।