७ वर्षअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका इटालीका हस्ती क्रिस्टियान भियरी पुनः खेलमा फर्किदैछन्।
तर, उनी यतिबेला इटालीमा नभई चीनबाट आफ्नो करिअरअगाडि बढाउन खोज्दैछन्। ४३ वर्षीय भियरीले शनिबार ट्विटरमा आफ्नो आगामी लक्ष्यको विषयमा पोष्ट गर्दै भनेका छन्– बोबो फर्किए। मैले चीनमा गएर खेल्ने निर्णय गरे।’ भियरी आफ्ना साथीभाई माझ बोबोको नामले चर्चित छन्। उनले आफू खेल्ने क्लबको खुलासा भने गरेका छैनन्।
भियरी अन्तिम पल्ट सन् २००९ मा मैदानमा देखिएको थिए। उनको फुटबल करिअर इटालीबाट सुरु भएर अमेरिकाको अट्लान्टामा समाप्त भएको थियो। उनले देशको विभिन्न १० वटा क्लबबाट व्यवसायिक फुटबल खेले। स्पेनको एट्लेटिको म्याड्रिड र फ्रान्सको मोनाको क्लबबाट पनि खेलिसकेका भियरी इटालीको राम्रो स्ट्राइकरको पक्तिमा पर्छन्।
इटालीकै इन्टर मिलान क्लबमा रहँदा उनको ख्याती चुलिएको थियो, जब उनले यो क्लबका लागि लगातार ६ सिजन दोहोरो अंकमा गोल गरेका थिए। सन् २००२–३ मा उनले इन्टर मिलानका लागि २७ गोल गरेका थिए। उनले इन्टरका लागि १ सय ४३ खेलमा १ सय ३ गोल गरेका थिए। सन् १९९९ मा इन्टरले उनलाई लाजियोबाट त्यतिबेलाको विश्व कीर्तिमानी रकम ३ करोड २० लाख पाउन्डमा खरिद गरेको थियो।
भियरीले देशका लागि ४९ खेल खेल्ने क्रममा २३ गोल गरेका थिए। ब्राजिलका फर्वाड हल्कलाई चीनको सुपर लिग क्लब सङ्घाई एसआइपिजीले गत जुनमा ४ करोड ६१ लाख पाउन्डमा खरिद गरेको सन्दर्भमा भियरीको लागि पनि राम्रो रकम खर्चिएको अनुमान लगाइएको छ। तर, अनुबन्धको रकम सार्वजनिक भएको छैन्।