‘पक्राउ परेका व्यक्ति को हुन् हामी समय आएपछि भन्नेछौं, अहिले केही कुरा बताउन मिल्दैन,’ डिआइजी चन्दले भने, ‘व्यक्ति विशेष पत्रकारलाई मात्र पनि भन्न मिल्दैन।’
नेपाल प्रहरीको लागुऔगषध नियन्त्रण ब्युरोले बाराको एक औषधि उत्पादक उद्योगबाट औषधि बनाउन प्रयोग हुने केमिकल विदेश तस्करी हुने गरेको आरोपमा एक जनालाई बुधबार पक्राउ गरेको छ। बारा जितपुरस्थित आर्या फर्मा औषधि उद्योगबाट मोहित हलानलाई प्रहरीले फ्याक्ट्री हाताबाटै पक्राउ गरेको हो।
उक्त उद्योगका सञ्चालक विवादास्पद व्यापारी पवनकुमार सांघाई हुन्। हलानलाई नियन्त्रणमा लिएको बारा प्रहरीले पुष्टि गरेको छ। तर, ब्युरो आफैंले भने पक्राउ परेका व्यक्तिको पहिचान खुलाउन आनाकानी गरेको छ।
ब्युरोका इन्सपेक्टर कृष्ण पनेरुको नेतृत्वमा गएको टोलीले उद्योगमै छापा मारेको थियो। मोहित सांघाईका व्यापारिक साझेदार शंकर हलानका छोरा हुन्। स्रोतका अनुसार औषधि बनाउन भनी युरोपियन मुलुकबाट ल्याइने प्रिकर्सर केमिकल उक्त उद्योगबाट लागुऔषध बनाउन चीन भारत र चीन तस्करी हुने गरेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो।
प्रहरीले पक्राउ परेको केमिकलको विषयमा पनि जानकारी दिन मानेको छैन। दुई दिनअघि नै केमिकलसहित हलान पक्राउ घटना प्रहरीले अहिलेसम्म ‘गोप्य’ राखेको छ। ब्युरोका डिआइजी जयबहादुर चन्दले अनुसन्धानका क्रममा रहेको विषयमा केही पनि भन्न नमिल्ने बताए।
‘पक्राउ परेका व्यक्ति को हुन् हामी समय आएपछि भन्नेछौं, अहिले केही कुरा बताउन मिल्दैन,’ डिआइजी चन्दले भने, ‘व्यक्ति विशेष पत्रकारलाई मात्र पनि भन्न मिल्दैन।’ डिआइजी चन्दले उक्त घटनाबारे आइतबार पत्रकार सम्मेलन राखेकाले त्यहीँ आएर बुझ्न आग्रह गरे।
बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीका अनुसार मोहित हलान अहिले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा छन्। हलानलाई ब्युरोको टोलीले काठमाडौं ल्याएर सोधपुछपछि बारा प्रहरीको जिम्मा लगाएको थियो।
‘लागुऔषध नियन्त्रण ऐन अनुसार म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ,’ एसपी उप्रेतीले भने, ‘ब्युरोको टोलीले समातेको हुँदा मैले केही पनि भन्न मिल्दैन।’
प्रिकर्सर केमिकल निद्रा लाग्नेलगायत जीवनरक्षक औषधिका लागि प्रयोग हुन्छ। त्यसैगरी, लागुऔषध नार्कोडिक ड्रग पनि बन्छ। नार्कोडिक प्रतिबन्धित लागुऔषध हो।
ब्युरोमा पहिले काम गरिसकेका अधिकारीहरूका अनुसार उक्त केमिकल गृहमन्त्रालयको स्वीकृति लिएरमात्र आयात गर्न पाइन्छ। स्रोतका अनुसार सांघाईको उद्योगले मन्त्रालयले स्वीकृति दिएको परिमाणभन्दा बढी ल्याउने गरेको सूचना थियो।
बढीमात्रामा ल्याएर भारत र चीन तस्करी हुने गरेको सूचना पुष्टि गर्न प्रहरी उद्योगसम्म पुगेको हो। ग्राहक बनेर गएको प्रहरीले सांघाईका व्यापारिक साझेदारका छोरा समातेर फर्केको थियो।
स्रोतका अनुसार हलान पक्राउ घटनापछि पोल खुल्ने डरले सांघाईले घटना भित्रभित्रै मिलाउन लागिपरेका छन्। सांघाईको सक्रियताबीच ब्युरोका अधिकारी यो प्रकरणमा बोल्न मानेका छैनन्।
व्यापारी सांघाई २०६८ पुस ७ गते पूर्वमन्त्री श्यामसुन्दर गुप्ताले पठाएको टोलीबाट अपहरणमा परेका थिए। मन्त्री हुँदा विभिन्न काम गरेबापत एक करोड नबुझाएको आरोपमा सांघाईलाई गुप्ताले अपहरण गरेका थिए।
ब्युरोको टोलीले पाटन औद्योगिक क्षेत्रमा रहेको संघाई प्लाष्टिक उद्योगको गोदाममा छापा मारेर ९ सय ५२ डिब्बा औषधि बरामद गरेको थियो। बुधबार र बिहीबार ४ सय ७१ किलो औषधि बरामद गरिएको थियो। यो औषधि लागुऔषध बनाउन चीन तस्करी हुने गरेको सूचनाका आधारमा समातिएको थियो।