अमेरिकी दूतावासले डिल्लीबजारस्थित पद्मकन्या उच्च माध्यमिक विद्यालयबाट नयाँ विद्युतीय घुम्ती पुस्तकालय सुरु गरेको छ। 'बुकटुक' अमेरिकी दूतावासको घुम्ती पुस्तकालय (बुकबस) हरूको समूहमा सबैभन्दा नयाँ सदस्य हो। अमेरिकी राजदूत अलाइना बी. टेप्लेट्ज र अमेरिकी विदेश मन्त्रालयस्थित अन्तर्राष्ट्रिय सूचना कार्यक्रम (आईआईपी) सम्बन्धी ब्युरोका संयोजक मेकन फिलिप्सले आज एक समारोहका बीच बुकटुकको उद्घाटन गरे।
विद्युतीय सफा टेम्पोलाई नयाँ रूप दिइएको बुकटुकमा सौर्य ऊर्जाबाट चल्ने ताररहित इन्टरनेट सेवा समेत उपलब्ध छ। सानो आकारको भएको हुँदा बुकटुक काठमाडौँ उपत्यकाका भित्री सहरी क्षेत्रहरूमा पुग्न सक्छ। इन्टरनेट सुविधा उपयोग गरेर बुकटुकका पाठकहरू शैक्षिक वेबसाइटमा जान सक्छन् र कम्प्युटर प्रविधि प्रयोग गर्न सिक्छन्। स्वच्छ ऊर्जाको माध्यमबाट सञ्चालित बुकटुकले वातावरणमा नकारात्मक प्रभाव पार्ने छैन भने साँघुरा सडक तथा घुम्तीका कारण बुकबस पुग्न नसकेका क्षेत्रमा समेत पुग्न सक्नेछ।
'नेपालमा रहेका हाम्रा अमेरिकन स्पेसेहरूको समूहमा बुकबसलाई परिचित गराउन पाउँदा मलाई खुशी लागेको छ,' संयोजक मेकन फिलिप्सले भने। राजदूत टेपलेट्जले वातावरणीय क्षतिलाई न्यून गर्न हामी सबैले सानो तर अर्थपूर्ण कदम चाल्न सक्ने र त्यस दिशामा बुकटुक त्यही सानो कदम भएको बताइन्।
बुकटुक परियोजनामार्फत अमेरिकी दूतावासले कलिलो उमेरका पाठकहरूका लागि नेपाली र अङ्ग्रेजी दुवै भाषाका पुस्तकहरू अनुदान स्वरूप उपलब्ध गराउनेछ। यसको लक्ष्य कलिलो उमेरका व्यक्तिहरूलाई पुस्तक पढ्न प्रेरित गर्नु, अमेरिकी संस्कृति बारे जानकारी आदानप्रदान गर्नु र उनीहरूको अङ्ग्रेजी भाषामा सुधार गराउनु हो। बुकटुक र बुकबस परियोजना नेपालभर अमेरिकी दूतावासद्वारा प्रायोजित अमेरिकन स्पेसहरूको सञ्जाल अन्तर्गत पर्दछन्।