पछिल्लो गणना अनुसार बर्दियामा नयाँ २९ डमरुसहित बाघको सख्या ८५ पुगेको छ।
चोरी सिकारी, बासस्थान विनास तथा आहारा र पानीको कमीका कारण संसारबाटै बाघको संख्या घट्दै गएको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो सन् २०१६ गणनामा २५ वटा बढेर बाघको सख्या ८५ पुगेको छ। सन् २०१३ मा गरिएको बाघ गणनामा बाघको संख्या १६ भाले र ३४ पोथी गरी ५० वटा वयस्क पाटे बाघ रहेका थिए।
२०७२ माघ ६ गतेदेखि सुरू गरेर ७२ दिनसम्म क्यामरा ट्रयापिङ प्रविधिबाट गरिएको बाघ गणनाको संख्या बाघ दिवसको अवसर पारी शुक्रबार सार्वजनिक गरिएको छ।
गणनामा वयस्क बाघ ५०, अर्धवयस्क बाघ ६ र बच्चा(डमरु) २९ वटा गरी ८५ वटा बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रमेश थापाले बताए।
बाघको संख्या नेपालमा सन् २०१३ मा आइपुग्दा १९८ पुगेको थियो। जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा चार, पर्सा वन्यजन्तु आरक्षमा सात र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७ बाघ रहेका थिए।
आहाराको खोजीमा बाघ मानवबस्तीमा पस्दा समुदाय र बाघबीच द्वन्द्वको स्थिति सिर्जना हुने र बाघ मारिने गरेकोले बाघ संरक्षणका लागि समुदायको सहभागिता अपरिहार्य रहेको र समुदायको अथक प्रयासबाट नै बाघको सख्यामा बृद्धि भएको संरक्षण अधिकृत थापाले भने।
बाघको संरक्षणका लागि निकुन्ज र वन्यजन्तु आरक्ष वरपर मध्यवर्ती क्षेत्र घोषणा गरेर समुदायलाई संरक्षणमा सक्रिय गराउने नीति अनुसार सरकारले कार्यक्रम सञ्चालन गरिरहेको समेत उनले भने।
बाघको छाला, हाड, मासु, दाँत र नंग्रा महंगोका बिक्री हुने भएकाले चोरी सिकारी बढेको छ।
पछिल्लो सय वर्षको अवधिमा संसारभर बाघको संख्या ९७ प्रतिशतले घटेको छ। सन् १९१३ मा बाघको संख्या १ लाख रहेकोमा सन् २०१३ मा यो संख्या ३ हजार २ सय ७४ मा झरेको तथ्यांक छ।
सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर बनाउने बाघ पाइने राष्ट्रहरूले प्रतिबद्धता जनाएका थिए। त्यसैअनुरुप नेपालले पनि बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको थियो। सन् २०२२ सम्म यो संख्या दोब्बर गर्ने लक्ष्यसहित सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
सन् २००८ मा गरिएको गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १८ वटा बाघ रहेकोमा सन् २०११ मा गरिएको गणना अनुसार १५ भाले र २२ पोथी गरी ३७ वटा वयस्क बाघ रहेका थिए।