पहिरो खसेपछि दाङ–रोल्पा सडकखण्ड दुई दिनदेखि अबरुद्ध भएको छ। घोराही हुँदै रोल्पाको होलेरी जाने सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि दुई दिन यता यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्।
अविरल वर्षापछि ठाउँ÷ठाउँमा पहिरो झरेका कारण बुधवार दिउँसोदेखि नै दाङको घोराहीदेखि रोपाको होलेरी जाने सडकखण्ड ठप्प बनेको दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए।
दाङ सैघा, च्यान गैरा भन्ने स्थानमा ठूलो पहिरो झरेको र अन्य विभिन्न ठाँउमा पनि पहिरो झरेकोले सडक अवरुद्ध वनेको प्रहरीले जनाएको छ।
पहिरो खस्ने क्रम नरोकिनु र हिलाम्मे सडकका कारण सवारीका साधन सञ्चालनमा आउन नसकेको एसपी सिंहले बताए।
घोराही होलेरी–सडकखण्डमा दाङबाट रोल्पा जाने र रोल्पावाट दाङ झर्ने कुनैपनि सवारीका साधन सञ्चालनमा आउन नसक्दा सर्वसाधरणको दैनिकी निकै कष्टकर बन्दै गएको छ।