भूकम्पका कारण जमिन धाँजा फाटेको काभ्रेपलाञ्चोकको बोल्देफेदिचे गाविसमा वर्षासँगै पहिरोको जोखिम बढेको छ।सोे स्थानमा बस्ती स्थानान्तरण नहुँदा स्थानीय जोखिम मोलेर बस्न बाध्य भएका छन्।
भूकम्पका कारण काभ्रेपलाञ्चोकको सात गाविसका ३७२ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न एक वर्षअघि नै भौगर्भिक अध्ययन टोलीले सरकारलाई सुझाव दिएको थियो। तर जिल्ला प्रशासन कार्यालय, धुलिखेलले बोल्देफेदिचे गाविसमा मात्रै ६२ घरधुरी जोखिममा भएकाले उनीहरुलाई स्थानान्तरणको प्रक्रिया अघि बढेको जनाएको छ।
प्रजिअ बालकृष्ण पन्थीले भौगर्भिक अध्ययन टोलीले बोल्देफेदिचे गाविसको ६२ घर जोखिममा रहेकाले उनीहरुलाई स्थानान्तरण गर्न सुझाएकाले दलहरुसँग समन्वय गरेर काम अघि बढेको जिकिर गर्दै अन्य ठाउँमा सर्तकता अपनाउन भनिएको बताए।
बोल्देफेदिचेमा बस्तीमाथि रहेको फिलाइट चट्टान फुटेको तथा चट्टानमा दायाँबायाँ चिरा परेकाले जोखिम रहेको उल्लेख गर्दै उनीहरुलाई पुर्नवासको व्यवस्था गर्न अध्ययन टोलीले सुझाव दिएको थियो। जिविसका अनुगमन तथा प्रशासकीय अधिकृत धोलकराज ढकालले जिल्ला प्राविधिक कार्यालय र भूसंरक्षण कार्यालयबाट इन्जिनियर परिचालन भएको उल्लेख गर्दै अध्ययन प्रतिवेदन आएपछि पुर्नवासका लागि प्रक्रिया अघि बढ्ने बताए। रासस