गत असार २८ गते ललितपुर बालकुमारीस्थित् किष्ट पोलिक्लिनिकमा कार्यरत स्टाफ नर्स निमा डोल्मा लामाको हत्या भएको भन्दै परिवारले हत्यामा संलग्नलाई अविलम्ब कारवाही गर्न माग गरेको छ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा मृतकका आफन्तले पत्रकार सम्मेलन गरेर निमाको आत्महत्या नभई हत्या भएको भन्दै दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग गरेका हुन्। परिवारले निमालाई शरीर बन्धक बनाई हत्या गरिएको आशंका गरेको छ । मृ्तककी बहिनी मिना लामाले भनिन्,‘यो हत्या नै हो, मान्छे मारेर अस्पताल लग्ने काम गरिएको छ, यो कुराको स्पष्ट छानविन हुनुपर्छ।’
उनीहरूले निमाको हत्या क्लिनिकका सञ्चालक उमेशकुमार साह र डा. देवकुमार साहको मिलेमतोमा भएको आरोप लगाए । उनीहरुले हत्या आरोपीको बारेमा किटानी जाहेर दिँदा समेत अहिलेसम्म कुनै कारवाही नभएको भन्दै चिन्ता व्यक्त गरे । उनीहरुले प्रहरीले सुरुमा किटानी जाहेरी नै लिन नमानेको स्मरण गर्दै मानवअधिकारकर्मी, सासंसदहरुलाई हार गुहार गरेपछि मात्रै उजुरी लिएको आरोप लगाए ।
कार्यक्रममा तामाङ् घेतुङ् संघका सचिव रामृकष्ण ब्लोनले पनि निर्दोष मानिसको हत्या हुँदापनि प्रहरीको अनुसन्धान र पोष्टमार्टमको रिपोर्टले दोषी उम्कने र पीडित झनै पीडित हुनु पर्ने अवस्था भएको भन्दै निष्पक्ष छानविनको माग गरे।