सैनामैना–५ रुपन्देहीमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका एक युवकको हत्याको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
रुपन्देहीकै खडवा वनगाई–३ का अन्दाजी २८ वर्षीय मोहम्मद खानलाई प्रहरीले मंगलबार बिहान मृत अवस्थामा फेला पारेको हो। प्रहरीले खानको हत्याको आशंकामा खडवा बनगाईकै तीन जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले उक्त घटनामा संलग्न भएको आशंकामा ६० वर्षीय रामशंकर थारु, २० वर्षीय कृष्णकुमार थारु र २६ वर्षीय छोटेलाल थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिए।
मृत अवस्थामा फेला परेका खानको शरीरमा सामान्य चोटपटक देखिएको र पोष्टमार्टमको लागि लुम्बिनी अञ्चल अस्पतालमा शव राखिएको कार्कीले जानकारी दिए।