राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल समानान्तरबीच आज एकीकरणको घोषणा भएको छ।
मुलुकमा राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता एवम् प्रजातन्त्रको संवर्द्धन, प्रवर्द्धन तथा समृद्धशाली नेपाल निर्माणका लागि राष्ट्रवादी शक्तिबीचको एकता भएको बताइएको छ।
यहाँ मंगलबार आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले मुलुकमा राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको बताउँदै एकीकरणबाट देश र जनताको पक्षमा काम गर्न बल पुग्ने विश्वास व्यक्त गरे।
राप्रपा नेपाल समानान्तरका अध्यक्ष सत्यमान लामाले देशमा राष्ट्रियता कमजोर भएको अवस्थामा राजनीतिमा विचार र सिद्धान्तमा नजिक रहेका पार्टी एकीकरण भई जनताको सेवा गर्नुपर्नेमा जोड दिए।
राप्रपा नेपालका नेताको नेतृत्व कार्यशैलीबाट असन्तुष्ट भई दोस्रो संविधानसभाको निर्वाचनपछि उक्त पार्टीबाट छुट्टिएर राप्रपा नेपाल समानान्तर पार्टी स्थापना भएको थियो।
राप्रपा नेपाल भने राप्रपाबाट पहिले नै अलग भएको थियो। अहिले राप्रपा र राप्रपा नेपालबीच पनि एकीकरणको तयारी गरिँदैछ। रासस