‘तपाईंहरूले कस्ता–कस्ता समस्या झेल्नुपर्छ?’
शारीरिक अपांगता भएका व्यक्तिको अधिकार रक्षासम्बन्धी उच्चस्तरीय संयन्त्रका सदस्य गजेन्द्र बुढाथोकीलाई मैले सोधेँ।
‘तपाईंले कहाँ–कहाँ हामीलाई सहज पहुँच भएको देख्नुभएको छ?’ उनले उल्टै प्रश्न सोधे।
उनको प्रश्न यहीँ थामिएन। थप सोध्दै गए।
‘रेस्टुरेन्ट जान सिँढी चढ्नुपर्छ, हामी सक्दैनौं, के हामीलाई खान मन हुँदैन? हिँड्दा हिँड्दै पिसाब लाग्छ, तर शौचालयसम्म जाने बाटो हुँदैन, के हामीले शौचालय जानै नपाउनु? हामीलाई पनि दैनिक उपभोगका सामान किन्नुपर्छ, तर सपिङ मल वा सामान्य किराना पसलमा हाम्रा लागि बाटो बनाइएकै छैन, के हामीले पैसा तिरेर पनि सामान किन्न नपाउनु? हामीलाई पनि हलमा गएर सिनेमा हेर्ने रहर हुँदो हो नि हैन र? औषधि किन्न अस्पताल वा क्लिनिक जाने हाम्रो बाटो खै कहाँ छ? हामीलाई कुन चाहिँ स्कुल–क्याम्पसमा सहज सुविधा छ? हाम्रा लागि कुन चाहिँ सडक सहज छ?’
बुढाथोकीका यी प्रश्नले कहाँ–कहाँ समस्या छन् मात्र होइन, शारीरिक अपांगता भएका व्यक्तिको जीवन कति कष्टकर छ भन्ने पनि संकेत गर्छ।
आठ वर्षअघि सवारी दुर्घटनामा परेका बुढाथोकीको कम्मरमुनिको भाग चल्दैन। त्यसयता हिँडडुल गर्न ह्विलचियर प्रयोग गर्दै आएका छन्।
‘टाढा जानुपर्यो भने ट्याक्सी चढ्नुपर्छ, ट्याक्सीले मान्छे मात्र होइन, ह्विलचियरको समेत पैसा माग्छ,’ उनले भने, ‘आठ वर्षदेखि निकै कष्टकर यात्रा गरिरहेको छु सार्वजनिक स्थानहरूमा।’
काठमाडौंका सडक सम्झेर त बिहान घरबाट हिँड्नेबेलामै अत्यास लाग्ने उनी बताउँछन्। उनले आफ्नो मात्र हैन, आफ्ना साथीहरूको पनि अनुभव सुनाए।
केही दिनअघि ह्विलचियरमा हिँड्ने एक जना बहिनी उनीसामु रोइछन्। ‘दिनभरिको सास्ती सम्झेर उनले मन थाम्नै सकिनन्,’ गजेन्द्रले सुनाए, ‘मैले उनलाई के भनेर सम्झाउनु अब?’
उनका अनुसार दिनभरि ह्विलचियर चढेर काममा हिँड्नुपर्ने मान्छेका लागि बाटोमा थुपारिएका निर्माण सामग्री, मूल सडकमै ठाउँठाउँमा हुने खाल्डाखुल्डी, कच्ची बाटोजस्ता अवरोधले समस्या सिर्जना गर्छन्। काठमाडौंमा सेवासुविधा होला भनेर आउनेलाई यो सहरले झन् बढी सकस दिने उनको भनाइ छ।
कानुनमा शारीरिक अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा दिने भनिएको छ तर ह्विलचियर गुडाउनेलाई अस्पतालसम्म पनि सहज पहुँच छैन। ‘कागजमा लेखिएका हकअधिकार उपभोग गर्नै समस्या भएपछि तिनको के अर्थ हुन्छ?’ बुढाथोकीको प्रश्न छ।
निजी क्षेत्रले त झन् अपांगता भएका मानिस यही सहरमा बस्छन् भन्ने कहिल्यै नसोचेको उनले बताए।
‘करोडौं–अर्बौं खर्च गरेर सपिङ मल बनाइन्छ, अस्पताल बनाइन्छ, रेस्टुरेन्ट बनाइन्छ, सिनेमाघर बनाइन्छ, तर केही हजार खर्च गरेर अपांगता भएका मान्छेलाई पनि त्यहाँ सजिलोसँग पुग्ने बाटो बनाइँदैन,’ उनले भने, ‘यस्ता संरचना बनाउँदा कुल लागतको ०.००२ प्रतिशत खर्चमै अपांगतामैत्री बनाउन सकिन्छ। खर्च गर्न नसकेर होइन, अपांगता भएका व्यक्तिको अस्तित्व स्वीकार गर्न नसकेर यस्तो भएको हो।’
यसैबीच साझा यातायातले नेपालमै पहिलोपटक अपांगतामैत्री बस ल्याउन लागेको सुनेर उनी दंग छन्।
साझा यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधरका अनुसार यस्ता बस बनाउन भारतको अशोक लेल्यान्ड कम्पनीलाई जिम्मा दिइएको छ।
‘साझा यातायातलाई अपांगतामैत्री बनाउन र ह्विलचियर भित्रै लैजान सकिने गरी बस निर्माण गर्न भारतीय कम्पनीलाई जिम्मा दिएका छौं,’ तुलाधरले सेतोपाटीसँग भने, ‘यस्ता ३० वटा बस बन्दैछन्।’
पुराना साझा बसमा एकातिर तीन र अर्कोतिर दुईवटा सिट छन् भने नयाँ बनिरहेकामा दुवैतिर दुई–दुईवटा सिट हुनेछन्। यसले बीचमा धेरै खाली ठाउँ हुनेछ। त्यहाँ दुईवटासम्म ह्विलचियर अट्न सक्ने बनाइँदैछ।
सडकदेखि गाडीभित्र ह्विलचियर लैजान प्रयोग गरिने र्याम्प र ह्विलचियर धकेल्ने मान्छे पनि अटाउनुपर्ने भएकाले यी बसको पछिल्लो ढोकालाई ठूलो बनाउन लागिएको तुलाधरले बताए। ‘बस अपांगतामैत्री भए पनि काठमाडौंका सडक त्यस्तो नभएकाले धेरै ठाउँमा समस्या पर्नेछ,’ उनले भने।
उनका अनुसार बसपार्क र फराकिलो पेटी भएको सडकमा ह्विलचियर गाडीभित्र लैजान सजिलो भए पनि साँघुरो सडकमा गाह्रो पर्नेछ।
बुढाथोकीलाई भने साझाको यो प्रयासले आफ्नो यात्रा केही सहज होला कि भन्ने आस जागेको छ।
‘अपांगता भएका व्यक्ति भन्नेबित्तिकै दृष्टिविहीनलाई सम्झिने गरिन्थ्यो, अब ह्विलचियरमा हिँड्नेलाई समेत बसमा छुट्टै सुविधाको व्यवस्था हुनु खुसीको कुरा हो,’ उनले भने।
अब उनको एउटै प्रश्न छ, साझाको यो प्रयाससँगै सिंगो काठमाडौं सहर कहिले अपांगतामैत्री हुने हो? उनको लडाइँ यसैका लागि हो।