फ्रेन्च मिडफिल्डर पाउल पोग्बालाई अनुबन्ध गर्न विश्वका दुई धनी क्लब रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड तँछाड–मछाड गरिरहेका छन्। तर, युभेन्ट्सका २३ वर्षीय सुपरस्टार भने अमेरिकामा रंगीन जीवन बिताइरहेका छन्। अमेरिकाको मियामीस्थित विचमा उनी चुरोटको ठुटोसँगै सुन्दरीहरू माझ देखिएपछि उनका समर्थक तरंगित बन्न पुगेका छन्।
दुई साताअघि युरो कपको फाइनलमा पोर्चुगलसँग १–० ले पराजित भएपछि पोग्बा छुट्टी बिताउन हलिउडतर्फ लागेका थिए। युरो कपमा खर्चिएको शक्ति आउँदो सिजनपूर्व पुनः प्राप्त गर्न उनी आवद्ध इटालीको युभेन्ट्स क्लबले उनलाई लामो छुट्टी बिताउन समय दिएको हो।
उनलाई घरेलु लिग अगावै अभ्यासका लागि अस्ट्रेलियाको भ्रमण गर्न लागेको क्लबमा तत्काल फर्किनु नपर्ने गरी बिदा दिइएको छ। पोग्बा हाल इभर्टनका बेल्जियम स्ट्राइकर रुमेलु लुकाकुसँग अमेरिकामा छुट्टी मनाइरहेका छन्। उनी केही समयअघि लुकाकुसँग बास्केटबल खेलिरहेको, पुल पार्टी र याचमा देखिएका थिए। उनले आफ्नो कपाल पनि रंगाएका छन्। भर्खरै सार्वजनिक तस्बिरमा पोग्बा इलेक्ट्रिक चुरोट तानिरहेको अवस्थामा भेटिएका थिए। पोग्बालाई अनुबन्धित गर्न म्यानचेष्टरले कीर्तिमानी १२ करोड युरोको प्रस्ताव युभेन्ट्ससँग राखिसकेको छ।