छाउनीस्थित १५ रोपनी जग्गा प्रेरणा शाहको नाममा दिनू भन्ने पूर्व फैसलामाथि पुनरवलोकनको माग गर्दै नेपाल ट्रष्टको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ।
तत्कालिन प्रधानन्यायाधीश रामकुमार साह र न्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले २०७२ असोजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल ट्रष्टको कार्यालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालयका नाममा सो फैसला गरेको थियो।
उपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावलको अध्यक्षतामा हालै बसेको नेपाल ट्रष्टको कार्यालयको ३९औँ बैठकको निर्णयानुसार ट्रष्टका सचिव भीमप्रसाद उपाध्यायले सो फैसलामाथि पुनरवलोकनको माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालयले पनि सो फैसलामाथि पुनरवलोकनको माग गर्दै निवेदन दर्ता गराउने तयारी गरिरहेको बुझिएको छ।
सचिव उपाध्यायलेका अनुसार स्व.राजा वीरेन्द्रका नाममा रहेको सो जग्गा विसं २०६७ मै ट्रष्टका नाममा आइसकेको थियो। पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले आफूलाई बुवाले सो जग्गा आफुलाई दाइजो दिएको भन्दै जग्गाप्राप्ति गरिपाउँ भनी सर्वोच्चमा रिट दिएकी थिइन्।
सर्वोच्च अदालतले विसं २०७२ असोजमा जग्गा प्रेरणाकै भएको फैसला गर्दै फिर्ता गर्न सरकारलाई आदेश दिएको थियो। हाल सो जग्गाको मूल्य रु एक अर्ब भन्दामाथि रहेको छ। नेपाल ट्रष्ट कार्यालयले स्व.राजा वीरेन्द्रका नाममा रहेको जग्गाजमिन, दरबारलाई सोधखोज गरी आफ्नो नाममा ल्याउने काम गरिहरेको छ। रासस