टेबलटेनिस खेलाडी नविता श्रेष्ठले पल्सर स्पोर्टस अवार्डमा सर्वाधिक लोकप्रिय खेलाडीको अवार्ड हात पारेकी छिन्।
नविताले भलिबलकी प्रतिभा माली र फुटबलका नवयुग श्रेष्ठलाई पछाडि पार्दै बिहिबार काठमाडौंमा आयोजना गरिएको १३ औं स्पोर्टस अवार्ड समारोहमा पिपुल्स च्वाइस विधामा बाजी मारेकी हुन्।
एसएमएस भोट र फेसबुक लाइकका आधारमा १२ औं सागकी कास्य विजेता नविताले पिपुल्स च्वाइस विधामा अवार्ड पाएकी हुन्। कुल २ लाख ८६ हजार ५ सय ५१ भोटमध्ये नविताले १ लाख ५० हजार भोट पाएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ।
१२ औं सागमा काँस्य नै जितेकी प्रतिभाले १ लाख १६ हजार ६ सय भोट पाइन् भने नेपाललाई दुई दशकपछि फुटबलमा अर्न्तराष्ट्रिय उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका नवयुग श्रेष्ठले भने जम्मा १३ हजार ७५ भोट पाए।
पिपुल्स च्वाइस विधामा तेस्रो स्थानमा चित्त बुझाएका नवयुग पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए।
नवयुग फुटबलकै विकेश कुथु, भारत्तोलनका विकास थापा, उसुका राजेश चौधरी र तेक्वान्दोका विरबहादुर महरालाई पछाडि पारेर उत्कृष्ट खेलाडी घोषित भएका हुन्। नवयुगको उत्कृष्ट प्रदर्शनमा नेपालले वंगबन्धु कपको उपाधि र सागमा स्वर्ण जितेको थियो।
महिलातर्फ जुडोकी फुपुल्हामु खत्री उत्कृष्ट खेलाडी घोषित भइन्। १२ औं सागकी स्वर्ण विजेता फुपुल्हामुले सागकै स्वर्ण विजेता उसुकी निमा घर्तीमगर, ट्रायथलनकी रोजा केसी, तेक्वान्दोकी रेजिना कार्की र पौडीकी गौरिका सिंहलाई पछाडि पारेर उत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन्।
अवार्डवापत नविता, नवयुग र फुपुल्हामुले एक एक वटा पल्सर मोटरसाइकल हात पारे।
उत्कृष्ट युवा खेलाडीको अवार्ड भने फुटबल खेलाडी अञ्जन विष्टले जिते। अञ्जन वंगबन्धु कप र सागमा स्वर्ण हात पार्ने टोलीका महत्वपूर्ण सदस्य हुन्। उनले क्रिकेटका सन्दिप लामिछाने, पौडीकी गौरिका सिंह, जुडोकी मनिता श्रेष्ठ र उसुकी निमा घर्तीमगरलाई पछाडि पारेर अवार्ड हात पारे।
वंगबन्धु कप र १९ वर्ष मुनिको साफ च्याम्पियनसीपको उपाधि दिलाएवापत फुटबलबाटै बालगोपाल महर्जनले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे। बालगोपालले फुटबलकै राजुकाजी शाक्य, उसुका प्रकाश महर्जन, क्रिकेटका जगत टमाटा र जुडोका दलबहादुर गुरुङका पछाडि पारेर अवार्ड हात पारेका हुन्। समारोहमा बालगोपाल भने अनुपस्थित थिए।
अखिल नेपाल फुटबल संघका दिवंगत कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई मरणोपरान्त स्पेशल अवार्ड प्रदान गरियो भने फुटबल रेफ्रीबाट अवकाश लिएका श्रीराम रञ्जितकारलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइयो।
पारा एथलिट को अवार्ड सीता भण्डारीले जितेकामा आयोजक खेलकुद पत्रकार मञ्चले राष्ट्रिय फुटबल टिमलाई टिम अफ द इयर घोषित गरेको छ। उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेशल अवार्ड, पारा एललिट र लाइफटाइम अचिभमेन्ट विधाका विजेताहरुलाई ५०/५० हजार रुपैयाँ प्रदान गरिएको छ ।