संविधान सभा निर्वाचनका विषयमा भारतीय अनुभवबारे राजनीतिक दलका प्रतिनिधि र भारतीय चुनाव कमिस्नर सुकुमार सेनबीच अन्तरक्रिया गराउनका लागि सरकारले २००९ पुस २८ गते एउटा कार्यक्रम आयोजना गरियो। ‘गोरखा परिषद् जस्तो प्रतिक्रियावादी संस्थाले भाग लिएको सभामा नेपाली कांग्रेस जस्तो क्रान्तिकारी पार्टी र त्यसका नेता बीपीले भाग लिन मिल्दैन’ भनेर कांग्रेसले त्यो कार्यक्रम नै बहिष्कार गर्यो।
तर, आफैले अछूत मानेको दलका नेता भरतशमशेर राणालाई बीपी स्वयंले विपक्षी दलको नेता बनाए। त्यो पनि तत्कालीन संविधान, कानुन र संसद् नियमावली विपरीत। राणालाई विपक्षी दलको नेता बनाउनु रहस्यमय छ भन्ने चर्चा पत्रपत्रिकामा भयो। त्यो बेलाको चर्चित पत्रिका समीक्षा साप्ताहिकले ‘व्यक्तित्वको खोजी’ स्तम्भमा भरतशमशेरबारे लेखेको छ, ‘कुनै बेला गृह मन्त्री बीपी कोइरालामाथि खुकुरी र केही मूर्ख सशस्त्र फौज लिएर जाइलाग्नुभयो। उहाँका समर्थकहरुले नयाँ सडकमा नाङ्गो खुकुरी आतङ्क फैलाई खुकुरी दल खडा गरेको, त्यसपछि त्यही हिंसात्मक उद्देश्यलाई अगिसार्न त्यसलाई पार्टीको रुपमा परिणत गरी वीर गोरखा दल बनाएको र त्यसमाथि प्रतिबन्ध लागेपछि राष्ट्रवादी गोरखा परिषदको रुपमा त्यो आएको इत्यादि घटनाहरुको पृष्ठभूमिमा भरतशमशेर एक मात्रको पुनरूत्थानवादी, घोर प्रतिक्रियावादी, हिंसावादी, अमेरिकावादी र प्रतिशोधमूलक प्रवृत्तिले काम गरेको थियो।’
यसरी आफैमाथि साङ्घातिक आक्रमण गर्ने भरतशमशेरलाई बीपीले विपक्षी दलको नेता बनाएकोमा सर्वत्र विरोध भयो। भनिन्छ ‘राजनीतिमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैन।’ संसदीय व्यवस्थामा ‘सरकार सत्ता पक्षको, संसद् विपक्षको’ भन्ने सिद्धान्त प्रख्यात छ। तर, देशको पहिलो निर्वाचित संसद् सुरूको आठ महिना विपक्षीविहीन रहन गयो। जम्माजम्मी डेढ वर्ष कायम रहेको प्रतिनिधि सभामा त्यसपछि मात्र विपक्षी दलका नेताले औपचारिक मान्यता पाए।
के हो गोरखा परिषद् ?
राणा परिवारका सदस्यहरुले नेपाली कांग्रेस र भारतको विरोध गर्न राष्ट्रिय गोरखा परिषद् नामको पार्टी खोलेका थिए। अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको संरक्षणमा स्थापना भएको त्यही पार्टीमा उनीपछि प्रधानमन्त्रीको रोलमा रहेका बबर शमशेरका छोरा मृगेन्द्र शमशेर र नाति भरत शमशेरहरु नेता थिए। नेपाली कांग्रेसको प्रतिद्वन्द्वी बनाउन खोजिएको गोरखा परिषद् नै संयोगले जनमतकै आधारमा प्रमुख विपक्षी दलका रुपमा स्थापित हुन पुग्यो।
एकातर्फ विरोधी दलका नेता थिए मृगेन्द्रशमशेर राणा तर राणाहरुलाई विपक्षीको मान्यता दिन नहुने चर्को आवाज थियो। अर्कोतर्फ विपक्षी दलको नेता रहने व्यवस्था संविधानमा थिएन। नेपालको संसदीय इतिहासका प्रथम विपक्षी दलका नेता मृगेन्द्र शमशेरले अस्वस्थताको कारण देखाउँदै राजीनामा गरे। अनि २०१६ माघमा उनकै छोरा भरत शमशेर नेता बने। ‘बाबु–छोरा भए पनि उनीहरुको फरक सिद्धान्त थियो। बाबु राजाको पक्षमा थिए भने छोरा बीपीको। दलभित्रको समीकरणमा भरतशमशेर बलियो भए पनि आर्थिक स्रोतका लागि उनले बाबुसँग भर पर्नुपथ्र्याे।’
मृगेन्द्र शमशेरलाई संसद्ले औपचारिक मान्यता नदिएका कारण एक वर्षभन्दा बढी समय प्रतिनिधि सभा विपक्षीविहीन जस्तै भयो। राजा महेन्द्रले कांग्रेस पार्टी र त्यसको संसदीय दलभित्र विग्रह उत्पन्न गराई प्रधानमन्त्री बीपी कोइरालालाई हटाउने योजना बनाउन थालेको सुइँको पाएपछि बीपीले नै भरत शमशेरलाई विपक्षी नेताको मर्यादा दिलाए। सभामुख कृष्णप्रसाद भट्टराईले २०१७ असार ४ गते औपचारिक रुपमा राणालाई प्रमुख प्रतिपक्षी दलका नेताको मान्यता दिए। एक वर्षपछि मात्र ‘राणालाई किन मान्यता दिइयो’ भनेर त्यति बेला बौद्धिक वृत्तमा निक्कै चर्चा चलेको थियो। धेरैले एकचौथाई सिट नभएको दललाई कसरी विपक्षीको मान्यता दिइयो भनेर प्रश्न उठाए।
संसद्मा प्रमुख प्रतिपक्षीको भूमिकामा आउनुअगि गोरखा परिषद् राणा परिवारका सदस्यहरुको हितमा केन्द्रित थियो। उसका सबै गतिविधि कांग्रेस र २००७ सालको परिवर्तन विरूद्ध केन्द्रित थिए। तर विपक्षी दलको मान्यता पाएपछि गोरखा परिषद्का कामकारबाही संसदीय प्रजातान्त्रिक व्यवस्था अनुकूल हुँदै गए। संसदभित्र सरकारको कडा आलोचना गरे पनि गोरखा परिषद्ले बाहिर सरकार र लोकतान्त्रिक पद्धतिलाई सहयोग पुग्ने खालको भूमिका निर्वाह गर्यो।
राजाले कांग्रेसभित्रै फुट पैदा गरी सरकार असफल बनाउने रणनीति लिएपछि विपक्षी दलका नेता भरतशमशेरले कांग्रेस संसदीय दलबाट सरकारलाई असहयोग हुने अवस्था आए प्रधानमन्त्रीलाई साथ दिने वचन दिएका थिए। सांसद श्रीभद्र शर्माले भनेका छन्, ‘संवैधानिक प्रावधानको समेत वास्ता नगरी भरत शमशेरलाई विरोधी दलको नेताको मान्यता दिलाउनु पनि यसैको परिणाम थियो।’
विरोधी नेतालाई बधाई
विपक्षी दलका नेतालाई मान्यता दिँदै सभामुख भट्टराईले भनेका थिए,‘संसदीय शासन प्रणालीमा विरोधी पक्षको महङ्खव र स्थान उच्च हुन्छ। संसदभित्रको विरोध रचनात्मक, उत्तरदायित्वपूर्ण र सुव्यवस्थित ढङ्गले होस् भन्नका लागि संसदीय कार्यविधि र परम्परा अनुसार विरोधी दललाई औपचारिक मान्यता दिइने चलन छ। यस्तो मान्यताको फलस्वरुप विरोधी दलको नेतालाई मर्यादा र केही सुविधाहरु दिइन्छ साथै उहाँमाथि जिम्मेदारी पनि पर्न आउँछ। उपर्युक्त कुरालाई ध्यानमा राखी मैले पनि श्री ५ को सरकारको विपक्षमा रहेको सबैभन्दा ठूलो पार्टी राष्ट्रवादी गोरखा परिषद्का नेता भरतशमशेरलाई विरोधी दलको नेताको रुपमा मान्यता दिएको छु। यसले गर्दा उहाँको जिम्मेवारी बढ्न गएको छ र मलाई आशा छ कि उहा‘ले यो जिम्मेदारी संसदीय परम्परा अनुकूल ढङ्गले निभाउनुहुनेछ। म उहाँलाई हार्दिक बधाई दिन्छु।’
त्यस लगत्तै प्रधानमन्त्री बीपी कोइरालाले राणालाई बधाई दिँदै भनेका थिए, ‘सभामुख महोदय, तपाईंले भर्खर विपक्षी दलका नेताको निर्णय दिनुभयो। त्यसको म हृदयदेखि स्वागत गर्छु। विरोधी दलले रचनात्मक तरिकाले विरोध गर्नुपर्छ भन्ने जुन भावना व्यक्त गर्नुभयो, त्यो सुनेर पनि म सन्तुष्ट छु। हाम्रो देशमा संसदीय प्रणाली स्थापना भएको भर्खरै १ वर्षजति भयो। त्यसैले हामी सबैको कर्तव्य हुन्छ, हामी सबैले देशको संसदीय प्रणालीलाई पढौं र हाम्रो देशमा संसदीय प्रणालीलाई झन् झन् बलियो किसिमले स्थापना गर्न सकौं। विरोधी नेता भरतशमशेर चुनिनुभएको छ। अब उहाँमाथि ठूलो जिम्मेदारी पर्न आएको छ। यसले उहाँको निमित्त चाहिने खर्च र सबै किसिमको व्यवस्था सरकारले मिलाइदिनेछ। जसरी भए पनि हामी सबै मिलेर देश बनाउने काम जिम्मेदारीपूर्वक गर्न सकौंला भन्ने आशा छ। अन्त्यमा, म विरोधी दलका नेतालाई बधाई दिन्छु।’
त्यस लगत्तै सभामा विपक्षी दलका नेता भरतशमशेर राणाले भने, ‘सभामुख महोदय, श्रीमान्को घोषणाबाट आजदेखि म विरोधी दलको नेता भएको छु। मलाई विरोधी नेता बनाई कदर गर्नुभएकोमा माननीय सभामुख र माननीय प्रधानमन्त्रीदेखि कृतज्ञ छु। त्यसको निमित्त म र मेरो पार्टीको तर्फबाट धन्यवाद दिन्छु। प्रजातन्त्रमा सरकारको जति देन हुन्छ, त्यतिकै विरोधी दलको पनि हुन्छ, जुन हामीले जिम्मेदारीपूर्ण र रचनात्मक दृष्टिकोण लिएर सरकारको नीतिको विरोध गरेका छौं। अहिले पनि त्यही नीति कायम गर्ने हो। ध्वंसात्मक दृष्टिकोणले नहेरी हामी सदैव रचनात्मक दृष्टिले नै हेर्नेछाैं। मलाई आशा छ, माननीय सभामुखले मलाई कदर गर्नुभई जुन आकांक्षा प्रकट गर्नुभएको छ। त्यसलाई र त्यस्तै किसिमको माननीय प्रधानमन्त्रीको आकांक्षालाई पनि पूरा गर्ने कोसिस मेरो हुनेछ।’
विपक्षी दलका नेतालाई मन्त्री सरहको सुविधा दिइएको थियो। विपक्षी दलका प्रमुख सचेतक थिए बेनीबहादुर कार्की। राणा परिवारका सदस्य भरतशमशेरलाई प्रमुख विपक्षी दलको नेता बनाएको राजालाई मन परेको थिएन। ‘सुरूमा एक पटक सभामुख भट्टराईले एकातिर प्रधानमन्त्री र अर्कोतिर भरतशमशेरलाई राखेर राजासँग नारायणहिटी दरबारमा औपचारिक परिचय गराए।’ त्यसपछि राणाले कहिल्यै राजाको दर्शन भेट पाएनन्। एकै पटक २०१७ पुस १ गते कु गर्ने दिन उनलाई दर्शनभेटका लागि बोलाई दरबारको गेटमै गिरफ्तार गरियो।
विपक्षीलाई उच्च सम्मान
बीपीको उदारवादी आचरणका कारण विपक्षले कुनै किसिमको उकुसमुकुस महसुस गर्नु परेन। सबैलाई समेटेर हिँड्ने प्रधानमन्त्रीको प्रवृत्ति सम्पूर्ण संसद् परिवारमा प्रतिबिम्बित रह्यो। गम्भीर मतभेद पनि नरम भाषामा व्यक्त गर्ने परम्परा स्थापित भयो।
सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त भएपछि भारतमा संसदीय अभ्यास भइरहेको थियो। नेपालमा पनि त्यसको प्रभाव पर्नु स्वाभाविकै हो। अहिले जस्तो सञ्चारको विकास नभएका कारण रेडियो र पत्रपत्रिकामा आउने भारत र बेलायतका संसदीय गतिविधि मात्र थाहा हुन्थ्यो। भारतीय प्रधानमन्त्री नेहरु विपक्षीलाई उच्च सम्मान गर्थे। संसदीय बहसका क्रममा विपक्षीको कडा आलोचना गरे पनि बाहिर मित्रवत् व्यवहार गर्ने संस्कार थियो। त्यति बेला भारतका समाजवादी नेता राममनोहर लोहिया जेलमा थिए। ‘नेहरु सरकारले नै उनलाई जेल हालेको थियो तर नेहरु लोहियालाई जेलमा फलफूल पठाइरहन्थे। असाध्य सम्मान गर्थे। त्यसको प्रभाव नेपालमा पनि परेको थियो।’
सदनमा दुईतिहाई बहुमतको बलियो उपस्थिति रहँदा समेत बीपीले नेपाली कांग्रेसभन्दा झन्डै चार गुणा सानो गोरखा परिषदसहित सबै विपक्षीलाई सम्मानपूर्वक व्यवहार गरेका थिए। यसबाट देखिन्छ-बीपीले कुन प्रकारले संसदीय अभ्यास थालनी गर्न खोजेका रहेछन्। विपक्षीलाई उच्च सम्मानका साथ हेरिएको मात्र होइन, त्यस अनुरुपको व्यवहार गर्ने परम्परा नै स्थापित गर्ने प्रयासको थालनी भएको थियो। संसद्मा सत्ता पक्षलाई दाहिने र विपक्षलाई देब्रेतर्फ राख्ने प्रचलन पनि त्यति बेलैदेखि सुरू गरियो।
वामपन्थीको नजरमा बीपी
कम्युनिस्टहरुसँग व्यक्तिगत रुपमा अत्यन्त नरम र एकदमै राम्रो व्यवहार गरे पनि भाषणमा भने बीपी कडा आलोचक थिए। ‘कम्युनिस्टहरु प्रजातन्त्रका विरोधी हुन् भन्ने थियो उनलाई। ‘तपाईं–हाम्रो सिद्धान्त मिल्दैन’ भन्थे।’ वामपन्थी सांसद कमलराज रेग्मी कमलपोखरीमा बस्थे। हिजोआज जस्तो सार्वजनिक सवारी साधनको सुविधा कल्पना बाहिरकै विषय थियो। प्रधानमन्त्री कमलपोखरीको बाटो हुँदै आउँदा–जाँदा गाडी रोकेर रेग्मीलाई लिफ्ट दिन्थे। रेग्मी भन्छन्, ‘मलाई उहाँले त्यसरी २–४ पटक लिफ्ट दिनुभएको छ।’
जहाँ भेट्ता पनि विपक्षी सदस्यलाई सम्मान गर्ने र कुनै काम लिएर गयो भने राम्रो व्यवहार गर्ने बानी थियो बीपीको। राजा महेन्द्र पश्चिमाञ्चल भ्रमणमा हुँदा २०१६ पुसमा प्रधानमन्त्री पनि साथमै थिए। पैदल सवारी थियो। कहीँ कतै राम्रो बाटोघाटोको सुविधा थिएन। घोडामा सवार हुनुपथ्र्याे। कमलराज पनि सुवर्णशमशेरले राजीनामा दिएपछि खाली रहेको क्षेत्रमा उपचुनावको प्रचारका लागि पुगेका थिए। कांग्रेस छोडेर कम्युनिस्टतिर लागेका एक जना हस्तीलाई चुनावमा उठाउने तयारी थियो उनको। भन्छन्, ‘मैले नै पुष्पलाल श्रेष्ठको किर्ते सही बनाएर उनलाई चुनाव उठाउन लागेको थिएँ।’
रेग्मी अझै सम्झन्छन्-भ्रमणमा रहेका राजाले भाषण दिने कार्यक्रम थियोे। मञ्चमा राजासँगै बसेका बीपीले पछाडि भिडको बीचमा मलाई देख्नुभएछ, बोलाइहाल्नुभयो। राजासँगै राखेर भन्नुभयो, ‘सरकार, उहा‘ कमलराज रेग्मीजी। कम्युनिस्ट पार्टीका तर्फबाट हाम्रो संसद् सदस्य।’ रेग्मीलाई राजाले वास्ता गरे जस्तो लागेन। दिनभरिको कार्यक्रम सकिएपछि सा‘झ फेरि राजा र प्रधानमन्त्रीको सम्मानमा त्यही ठाउँमा चियापान कार्यक्रम थियो। बीपीले रेग्मीलाई बोलाएर राजासँगै राखे। फेरि चिनाउन खोजे तर फेरि पनि राजाले वास्ता गरे जस्तो लागेन। दुई–दुई पटक प्रधानमन्त्रीले चिनाउन खोज्दा बेवास्ता गर्ने राजा भोलिपल्ट सवारीको लावालस्कर हिँडेपछि एक्लै रेग्मीलाई पर्खेर बसेका थिए। राजा महेन्द्रले नै रेग्मीलाई बोलाएर भने, ‘म तपाईंलाई चिन्छु कमलराजजी।’ राजाको त्यस्तो व्यवहार देखेर रेग्मी छक्क परे।
उनले राजालाई स्थानीय समस्या सुनाउँदै भने, ‘सरकार, हामीले कांग्रेसका कार्यकर्ता खुपीराम उपाध्यायलाई चोरेर चुनाव लडाएका छौं। तर कांग्रेसीहरु हाम्रो अफिस भत्काउने काम गरिरहेका छन्। सरकारको भ्रमण ठीक छ, राजाले देश कस्तो छ भनेर बुझ्नु राम्रो हो।’ राजाले भने, ‘तपाईंहरुले भनेरै मैले चुनाव दिएको हो। अब के गर्ने भन्नुस् त।’ रेग्मी भन्छन्, ‘राजाको मनमा बीपीलाई फाल्ने योजना त्यति बेला नै रहेछ। कम्युनिस्ट पार्टीबाट मलाई आफ्नो पक्षमा लिन खोजेका रहेछन्। दुई–तीन पटक दोहोर्याएर सोधे। उनको पक्षमा कुरा गर्छ कि भनेर होला तर म बोलिनँ।’
(पत्रकार जगत नेपालको पहिलो संसद विपी-महेन्द्र टकरावबाट लिइएको पुस्तक अंश)