कालोपत्रे निर्माण गर्ने ठेकदार कम्पनी र त्यसका मालिकलाई सरकारले नियमन गर्न नसक्दा विकास निर्माणमा चरम बेथिति बढेको छ। गएको असार मसान्तमै निर्माण कार्य सक्नुपर्ने जिल्लाको दुधे–शिवगन्ज सडक यस्तै उदाहरण बनेको छ। ०७३ असार मसान्तमा कालोपत्रे निर्माण सक्ने र्याप थ्रीसँगको सम्झौता ठेकेदार युवराज डाँगीले तुहाइदिएका छन्।
ठेकेदारले दुधे–शिवगञ्ज सडक कालोपत्रे निर्माण सम्झौता योसँगै दुई पटक भंग गरिसकेका छन्। र्याप थ्रीले ०७२ साउनमा लगाएको ठेक्का काठमाडौंको गौरी–पार्वती निलगिरी जेभीले पाएको थियो।
८ करोड ५६ लाख रुपैयाँको यो योजना ठेकदारले ठेक्का सम्झौता गरेको सात महिनापछि काम सुरू गरेका थिए। समाचार स्रोतका अनुसार सो कम्पनीले पहिलो पटक फागुनमा दुधे–शिवगञ्ज सडक कालोपत्रे निर्माण सक्नुपर्ने सम्झौता गरेको थियो। तर, जतिबेला सम्झौताको म्याद सकियो सरकारका मन्त्रीदेखि राजनीतिक दलका नेता कार्यकर्ता ठेकेदारसँग जंगिएपछि बल्ल उक्त योजना सुरू भएको थियो।
ठेकेदारले फागुनमा पहिलो म्याद थप गरेर असारमा काम सक्ने गरि र्याप थी्रसँग सम्झौता गरेका थिए। थपिएको म्यादमा कालोपत्रे सडक निर्माण नभएपछि सो जेभीका ठेकेदार युवराज डाँगीले फेरि म्याद थप गरिदिन र्याप थ्रीसँग असारको अन्तिम साता अनुनय गरेको सो कार्यालयले जनाएको छ।
पछिल्लो पटक ठेकेदारले माग गरेको म्याद सेप्टेम्बर २ अर्थात् असोज १६ सम्म हो। र्याप थ्रीका झापा टिम लिडर कृष्णचरण ढुँगानाले भने नाकाबन्दी र निर्माण सामग्रीको अभावसँगै बर्खा लागेकाले समयमा काम नसकिएको लिखत जानकारी दिएपछि सो कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिवाना गराएर पछिल्लो पटक म्याद थपिएको बताए।
ठेकेदारले वर्षात्का समयमा कालोपत्रेको काम गर्दा गुणस्तर खस्किने प्राविधिक बताउँछन्। ठेक्कादाता र्याप थ्रीले पनि वर्षात्का समयमा सडक कालोपत्रेको काम नगर्न ठेकेदारलाई सल्लाह दिएको स्रोतले बतायो।
‘वर्षा सकिएलगत्तै दसैं तिहार भित्रिन्छ अनि असोज १६ मा कसरी सो योजना सम्पन्न हुन्छ?,’ एक स्थानीयले भने।
र्याप थ्रीका अनुसार ठेकेदारले तीन करोडको हाराहारीमा काम गरे पनि १ करोड ४५ लाखमात्र बुझेर लगेका छन्।