दक्षिण कोरियामा भएको दशौँ विश्व तेक्वान्दो कल्चरल एक्सपोमा नेपालले चार स्वर्ण र तीन कास्य सहित सात पदक हात पारेको छ।
जुलाई १४ देखि १८ सम्म भएको तेक्वान्दोको पुम्सेतर्फ एक स्वर्ण र तीन कास्य तथा ग्यरोगीमा तीन स्वर्ण जितेको प्रशिक्षक कुमार लामा घिसिङले बताए।
पुम्सेमा सुभम श्रेष्ठले रसियाली खेलाडीलाई हराउँदै स्वर्ण जिते भने सेमिफाइनमा हार व्यहोरेका वेदान्त बस्न्यात,अनुस्का सिंह सुवाल र लुनिभा श्रेष्ठले कास्य पदकमा नै चित्त बुझाए। अन्तिम चारमा वेदान्तले स्पेनसँग, अनुस्काले जापान र लुनिभाले कोरियासँग हार बेहोरेकी थिइन्।
त्यस्तै ग्यरोगीतर्फको ८० केजीमाथिमा अनिष महर्जनले नेपाललाई स्वर्ण दिलाए। महर्जनले फाइनलमा कोरियालाई हराए। उनले सेमिफाइनलमा फ्रान्सलाई हराउँदै स्वर्ण पदकको लागि आफ्नो चुनौति पेश गरेका थिए।
यू–१५ फाइटमा रिको चो श्रेष्ठले स्वर्ण जिते। रिकोले फाइनलमा चिनका खेलाडीलाई स्तब्ध पार्दै स्वर्ण पदक आफ्नो बनाए। यसअघि उनी भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए। यू–९ फाइटमा युकेन चौगुथीले क्यानडाका खेलाडीलाई हराउदै स्वर्ण पदक हात पारे।