‘उही क्यान्सर बूढो” मेरो नाम नजान्ने मान्छेहरु मलाई देख्दा यो वाक्यलाई दोहोर्याई रहन्थे ।
मैले “क्यान्सरको रोगी” भनेर अस्पताल भित्र निक्कै प्रसिद्धि पाइसकेको थिए । हुन त अस्पतालको त्यो घुइँचो भित्र म मात्रै क्यान्सरको रोगी थिइन, तर पनि मान्छेहरु किन हो को नी मलाई नै क्यान्सरको रोगी भनेर चिनाउन चाहन्थेँ र बेला–बेलामा अचम्मको बूढो छ भनेर मेरो परिचय पनि दिन्थे ।
जब म मेरा गाँउलेहरुलाई अस्पतालकै कोठाभित्र कहिले काँही भेट्थे, उनीहरु म बाट भाग्न चाहन्थे र तर्सिएको जस्तो अनुहार लगाएर एकोहोरो मलाई हेरिरहन्थे् । म उनीहरुलाई मेरो आफ्नो गाँउको सन्चो बिसन्चो सोध्न चाहन्थे तर उनीहरु भने केही नभनी सरासर हिंडिदिन्थे । सायद मेरो गाँउतिर बूढो मर्यो भन्ने ठानेका होलान् मेरा गाउँलेहरुले । मेरा छोराहरुले बाउ मरि सक्यो भनेर हल्ला फिजाँएका होलान् ।
हुन पनि अस्पतालको १६ नं बेडमा मैले मृत्युलाई रुँगेको आज १० महिना बितिसकेको छ र मैले यो सेतो तन्नालाई ओड्दै आएको पनि महिनौ भईसकेको छ । तर कठोर पर्खाइमा पनि मैले मेरो मृत्युलाई पाउन सकेको छैन । यत्रो लामो बसाइले म यस अस्पतालका प्रत्येक डाक्टर र नर्सहरुलाई चिन्छु र यस अस्पतालका भित्रका एक–एक चिजहरुसंग म परिचित हुँदै गइरहेको छु । यति सम्म कि कोठाभित्र पस्दा र निस्कदा आउने ढोकाको प्रत्येक आवाजहरु र भर्याङ्ग उक्लदा ओर्लदा सुनिने आवाजहरुको अनुमानमा म राम्ररि नै पास हुँदै आइरहेको छु ।
मलाई मेरो अस्पतालको खर्च कसले पुर्याउँदै छ थाहा छैन । यहाँ सम्मकी कसैले पनि यो कुरालाई उक्काएका छैनन् । मैले महिनौं सम्म त आफैंले हुर्काएका छोराहरुको बाटो हेरें । न छोराहरु आए, न बुहारीहरु नै आए । अव त मेरो खर्च कसले टार्दै होलान् भन्ने कुरासगं मलाई कुनै लेनदेन छैन, म त घरबाट निकालिएको मान्छे ।
म बिरामी छैन भन्ने कुरालाई कसैले पनि पत्याएनन । त्यस बेला मलाई जर्वजस्ती विरामी बनाइएको थियो । मैले बिरामी हुँ भन्नु परेको थियो । मेरा छोराहरुले मलाई जर्वजस्ती मानसिक अस्पतालमा विरामी बनाइ दिएका थिए । मैले मेरो अर्धाङ्गनीको मृत्युमा मनभरि रुन पाएको थिइन । पिर र चिन्ताहरुलाई आँशुले पखाल्नै पाएको थिइन । पत्नीको मृत्युले र मेरा छोराहरुको घृणाले मेरो मानसिकतामा नराम्रो छाप परेको थियो । जतिखेर म मेरी पत्नी शान्तीको मायालु अनुहार संझन्थे, उसले नखाई नखाई मेरो लागि भनेर लुकाएकी अलिकति खाजा संझन्थे, म मायाले आकुल व्याकुल हुँदै सपनामा बर्बराउँथे । एउटा लोग्ने भएर आफ्नी स्वास्नीलाई सुख र हाँसोमा राख्नै नपाई उसको लासलाई मैले आगाको रातो लप्काहरुमा सुताउनु परेको थियो । म शान्तीको शरीरमाथि हुरहुर दन्केको आगोलाई संझी राती कहिलेकाहीं चिच्याउने गर्थे । मेरा पापी छोराबुहारी र छिमेकीहरु त्यसलाई मेरो पागलपनको लक्ष्यण मान्थे र चाँडै भोलि नै अस्पताल लैजान खर्च खोज्न बाहीर निस्कन्थे ।
म त्यतिखेर चिच्याँउथे र छट्पटिन्थे । मेरो पत्निको मृत्युको घोर दुःख, पिर र चिन्ताहरुलाई मैले मेरो मुटुबाट हटाउनै नपाई बिरामी वा रोगी भन्ने अझ डर लाग्दो रोगको भारीलाई सहनु परेको थियो मैले । तर अस्पताल भन्ने बितिक्कै मेरी मायालु पत्निको त्यो झर्झराउदो अनुहार आँखा अगाडि ठूंग मार्न आईपुग्थ्यो । त्यो झरझर वल्दो मायालु अनुहारलाई सुकाएर एउटा नरकंकालको रुपमा मेरी स्वास्नीको लासलाई मैले बाहीर निकाल्नु परेको थियो अस्पतालबाट । त्यसैले म अस्पताललाई घृणा गर्थे, त्यहाबाट भाग्न चाहन्थे, रुन्थे, कराँउथे तर उनीहरु भने त्यसलाई पागलपनको लक्षण बढेको अनुमान लगाउथे । बहुलाको संज्ञा दिन्थे ।
बिरामी छैन भन्दा भन्दै पनि मैले पागलको नामबाट तिरस्कृत हुनुपरेको थियो । म जर्वजस्ती मानसिक अस्पतालमा पुर्याइएको थिए । त्यसबेला मैले अस्पताल पुगेर एकपल्ट पुलुक्क छोराहरुको अनुहारतिर हेरे । त्यँहा एउटा विस्रान्तीको चिन्ह स्पष्ट देख्न सकिन्थ्यो । बुहारीहरुका आँखामा त स्पष्ट खुशीका धर्काहरु कोरिएका देखिन्थे ।
पहिला मानसिक डाक्टरहरुले मलाई केस्राकेस्रामा विभाजित गरे । चिरफार गरे तर त्यँहा त्यस्तो पागलपनको कुनै लक्षणसम्म पनि थिएन । मेरो मस्तिष्क ठिकै थियो । मुटु र धड्कनहरु यथावतै चलेका थिए । मेरा अन्य कुनै अंगहरुमा पनि कमी थिएनन । कमी थियो त त्यँहा एउटा विश्वासपूर्ण मायाको कमी थियो । उनीहरुले मेरो मुटु भित्रको त्यो रोगलाई पत्ता लगाउन सकेनन । जिन्दगी प्रतिको निराशा र विश्वासिलो मायाको विछोडलाई डाक्टरी आँखाहरुले देख्न सकेनन । उनीहरुले त मलाई क्यान्सर रोगीको आशंकामा अर्कै अस्पतालमा डिस्चार्ज गरिदिए । मेरो मुटु र मष्तिष्क नजिकै टाँसिएर बसेको अथाह माया र ममताको सागरलाई भेट्न सकेनन । दुःख, पिडा र चिन्ताको बाक्लो घाउलाई छुन र देख्न सकेनन । म वर्वराउँथे, चिच्याँउथे, छट्पटिन्थे, रुन्थे र कराउँथे । मेरा वाक्यहरुको कुनै अर्थ हुँदैन थियो । तर म मानसिक डाक्टरहरुको आशंकामा भित्रि कुनै क्यान्सरको दीर्घ रोगी वा कुनै अनौठो रोगको सुत्रधार अनुमानित भइसकेको थिए ।
अस्पतालबाट निस्किएर म सोझै घर जान चाहन्थे, तर मलाई घर जान दिइएन । मलाई उही अस्पतालतिर डोर्याइयो जहाँ आज भन्दा २ वर्ष पहिले मैले मेरी पत्नीको लास बोकेर एउटा अध्याँरो रातमा एक्लै निस्कनु परेको थियो । कयौँ बिन्तिभाउ गर्दा पनि मैले मरेकी मेरी स्वास्नीको लासलाई एक रात भित्र राख्न पाएको थिइन । रोए, कराए तर मेरो बिन्ति लागेन । उल्टै मैले कयौं गाली खाए । आखीर मैले पत्निको मृत लाशलाई बोकेर कोठाबाट बाहीर निस्किए, अनि एउटा बिजुलीको पोल मुनि बसेर त्यो चिसो र कालो रात लासलाई रुगेंर बिताएको थिए । म एक्लै थिए, बिजुलीको उज्यालो मुनि शान्तिको मृत शरीर सुतिरहेको थियो । त्यो शान्त र निश्चल अनुहारमा अझ कतै जीवनका अवशेषहरु त बाँकी छैनन भनेर मैले गौंढ गरेर हेरिरहे ।
अह ! त्याँहा कुनै मायालु हेराई थिएन, कुनै चल्मलाहट थिएन, एउटा लामो र गहिरो विश्रान्ति थियो । दुःख, पिडा र रोगले झर्झर भइसकेको एउटा मायालु आकृति थियो । मेरी प्यारी शान्तीको गोलो चेहरा मात्र थियो । रात गाढा र चिसो बन्दै गइरहेको थियो । शहरको कुनै अत्तो पत्तो थिएन । ठाँउ ठाउँमा बिजुलीबत्तिहरु ब्लिरहेका देखिन्थे । मैले खाना नखाएको पूरै हप्ता दिन पुगिसकेको थियो । दिउँसो त कुनै आफन्तहरु पनि आएका थिएनन । छोराहरुले ल्याइदिएको एक बटुको भात, र तरकारीलाई बेडमुनि राखिदिएको थिए । यसरी यो रातमा एक्लै मैले बाहिरिनु पर्ला भन्ने एक मनले पनि सोचेको थिइन ।
ताराहरु चम्किरहेका थिए, तर मेरा लागि थिएनन । चिसो हावाको चाप बढिरहेको थियो । मैले चिसो भुईमा लडिरहेको शान्तीको लासलाई हेरे । आँखा आँसुले टप्प भरिएर आयो । आफू संग भएको त्यहीँ एउटा खास्टो पनि उसलाई ओढाइदिए र शान्तीकै छेउमा टुक्रुक्क बसे । राती एउटा कुकुर आयो, तर टाढैबाट एकछिन हेरेर तुरुन्तै फर्किहाल्यो । बेला बेला गाडीको हर्न सुनिन्थ्यो र इन्जिनको घ्यारघ्यार नजिकिदै जान्थ्यो तर कसैले पनि मलाई सहानूभूति सम्म देखाएनन् । बरु मध्यरात तिर एउटा लंगडो बुढाले शान्तिको लासलाई फुटपाथमा लिएर हिंड भनेको थियो ।
एकपल्ट एउटा कार हुइकिदै मेरो शान्तीको लासकै छेउबाट गयो । मैले उसलाई अलिक वरतिर ताने र भने “शान्ती हेर त झण्डै तिमीलाई किचेको है ।” तर त्यहाँ कुनै प्रत्युतर थिएन । एउटा सन्नाटा थियो, अध्याँरो निस्तब्द्धता मात्रै थियो । कून बेला बिहान भयो र मैले कसरी शान्तीको काजक्रिया गरे, मलाई अहिले सम्म पनि अत्तोपत्तो सम्म छैन । मेरी पत्नीको मृत लासलाई रुङ्गेर मैले त्यो कालो रातलाई बिजुलीका पोल मुनि बसेर छर्लङ्गै उज्यालो पारेको थिए ।
मलाई मेरा छोराहरु आज त्यहीं अस्पतालतिर तानिरहेथे, जहाँबाट मेरी मायालुको लाशलाई बोकेर कालो रातमा म बाहीर निकालिएको थिए । म अस्पताल जान चाहन्नथे, भाग्न चाहन्थे, रुन चाहन्थे र मनले सून्ने गरी कराउन चाहन्थे । तर मेरा एक एक अंगहरु बिरामीको डोरीले बाँधिएको थियो । पागलपनको डोरीले कसिएको थियो । म मेरी पत्नीको मृत्युमा मन फोएर रुन पाएको थिइन, मनले सुन्ने गरी चिच्याउन पाएको थिइन । आखीर मैले बिरामी हुनै पर्यो । मैले जहाँ मेरी शान्तीको मृत्युलाई ३ महीनासम्म पर्खेको थिए, त्यही कोठाको त्यही ओछ्यानमा ३ महिनाको अन्तरालपछि आइपुगे आफू पनि त्यही मृत्युलाई रुङ्गन । ओछ्यानमा सुती सकेपछि मात्र मलाई याद आयो, आखीर ईश्वरले मान्छेको चाहनालाई बुँझ्दा रहेछन् । यसरी म बिरामी भए अथवा बिरामी बनाइए र आज त्यही ओछयानको त्यही सेतो तन्ना ओडेको १० महिनाका अन्तिम दिनहरुलाई विताई रहेको छु ।
मैले बिताएका १० महिनाको केही अघिल्ला समयसम्म त मेरा आफन्तहरु मलाई हेर्न आउदै रहे । मलाई घर पुर्याई देओ भनेर कयौं बिन्ति गरे । आखीरमा उनीहरु आउन पनि छोडे । अनि मैले पनि मेरो जिन्दगीलाई यही बिताउने अन्तिम निर्णय गरेर डाक्टर र नर्सका प्रत्येक आशंकाको प्रश्नहरुमा हो मा हो मिलाउँदै गए ।
ईमर्जेन्सी वार्डको १६ नं बेडमा सुतेको यतिका दिनहरु बित्दा पनि मैले यहाँ केही फरक पाइन । उही एकाध घण्टा पछाडी डाक्टरहरु आएर घरीघरी हेर्थे । बेला बेला नर्सहरु चियाउँथे । तर कुनै समाचार थिएन, उही रुवावासी, मृत्यु, आँशु, पिडा र बिरामीहरुका चित्कार र क्रन्दनहरु सिवाय । मैले घाम नदेखेको पूरै १० महिना बितिसकेको थियो । बेला–बेला आधा उघारिएको झ्यालबाट आकाशतिर हेर्थे, त्याँहा कालो धूवाँ मडारिदैं आकाशभरि फिजिएको हुन्थ्यो । त्यो मुर्दाघरबाट लासहरु जलेर निस्केको धूवाँ मलाई टाढाबाटै गन्हाउथ्यो ।
त्यहाँ दिनमा कयौं लासहरु जलेर खरानी हुन्थे, पूरिइन्थे, त्यसैले मेरो लागि त्यो अस्पताल थिएन । एउटा ठूलो आर्यघाट थियो । अस्पतालका प्रत्येक कोठाहरु भकभकी उम्लिरहेको तेलका कराहीहरु थिए, जहाँ मान्छेहरु पाक्थे र छानेर काँचा जति मात्र बाहिर पठाइन्थ्यो । म आफूलाई पाक्दै र गल्दै गइरहेको अनुभव गर्थे । तर मलाई कत्ति पनि मृत्युको डर थिएन । आधा शताब्दी भन्दा बढीकोे दुःख र पिडा बोकेर अब पनि एक्लो र निरस जिन्दगीमा बाँच्न खोज्नुको कुनै अर्थ थिएन । म बाँच्नु र मर्नुमा कुनै प्रयोजन बाँकी थिएन । म आर्यघाट लैजान घरबाट निकालिएको मान्छे थिए । त्यसैले मेरो वरिपरिका कयौं मान्छेहरु मर्दा पनि मलाई मृत्युको कुनै डर थिएन ।
मेरै मात्र कोठाबाट पनि दिनहुँ कुनै न कुनै आत्मा शेष बन्थ्यो । अघिसम्म हाँस्दै गरेकोे मान्छे दिनभरिमा एउटा लास बनिसक्थ्यो । अनि त्यहाँबाट उही रुवावासी र चित्कारहरु सुनिन्थ्यो । एकछिन पछि धूवाँका काला मुस्लाहरु आकाशमा मडारिन्थे र आगाका ज्वालाहरु त्यो निर्दोष र सुकिलो शरीरमाथि नाँचिरहेका हुन्थे । अनि अन्त्यमा धुप र खरानी मात्र बाँकी रहन्थ्यो त्यँहा।
अब म यि प्रत्येक कुराहरुमा अभ्यस्त भइसकेको छु । मलाई यसको वर्णन गर्नुको कुनै प्रयोजन छैन । तर म मरेरै भए पनि त्यो मृत्युशालाबाट चाँडै उम्कन चाहन्छु । मेरा अन्तरङ्गका प्रत्येक दुःख, पिडा, वेदना र घाउहरुलाई धुँवामा परिणत गरेर आकाशभरि फिजाउन चाहन्छु । म मासु, हाड र छालाको जिवनलाई अन्त्य गर्न चाहन्छु । मेरा शरीरका प्रत्येक अङ्गहरुमा गन्हाउने अस्पतालको मृत्यु गन्धलाई मृत्युपछिको अवशेषमा पनि मिल्काउन चाहन्छु ।
म अस्पतालको घुँइचोदेखि वाक्क छु । उही आँशु, पिडा र एम्बुलेन्सका चित्कारहरुले मेरा कानका जालि खिइसकेका छन् । रोगी मान्छेको भिड र प्रत्येक बेडमास्तिर बिरामीतिर फर्काइएका खाली शिशाका बोतलहरु, लास बोक्ने ठेलगाडा अनि लास राख्ने त्यो ठूलो आँगन देख्दा पनि मलाई जिन्दगीका बाँकी दिनहरु संझदा वाक्क लाग्छ । जन्मनुसंग मर्नुको पनि लेखा हुन्छ भनेर जान्दा जान्दै पनि बाँच्नको लागि अस्पताल आउने मनस्तापी रोगीहरु देख्दा मलाई आश्र्चय लागेर आउँछ । मृत्युदेखि डराएर, मृत्युदेखि लुक्न किन आउँछन् मान्छेहरु मृत्यको प्रयोगशालाभित्र ? अस्पताल त मृत्युको प्रयोगशाला न हो, जहाँ मर्नेहरुको भिड दिनहँु थपिरहन्छ । किन कालको छेउ उभिएर आफूलाई सुरक्षित ठान्छन् मान्छेहरु ? किन यहाँ आउने प्रत्येक मान्छेहरु मृत्युशैयाभित्र सुतेर विजयी भावमा मुसुक्क मुस्कुराउछन् ? बुझ्न सक्दिन । म उनीहरुलाई यो अस्पताल होइन भनेर संझाउन सक्दिन, उनीहरुलाई पर्खीरहेको मृत्युदुतहरुलाई देखाउन सक्दिन ।
अस्पतालको लामो बसाइले गर्दा यसका प्रत्येक कुना कन्दराहरुसंग म परिचित छु । हामीसंग दोहोरो परिचय छ, तर मौन परिचय । अस्पताल मेरोलागि मृत्यु घर हो । यसका प्रत्येक ढोका र बार्दलीहरुमा यमराजका कालदूतहरुलाई देख्न सक्छु म । जब एम्बुलेन्सको चित्कार सुनिन्छ, काटमार, झै झगडा र बलत्कारको कुरा सुनिन्छ र अस्पतालमा घुइचो बढ्दै जान्छ, त्यो मेरो छेउको बूढो मृत्युदूत मुसुक्क मुस्कुराउँछ । अनि दनादन मेरै छेउका बेडहरु खालि गरिदिन्छ नयाँ बिरामीलाई पुःन मृत्यु प्राप्तिको लागि । अनि मान्छेले आफ्नै लागी लास बोक्न बनाएको ठेलगाडामा राखेर मान्छेलाई नै ठेल्न लगाँउदै ऊ पछि पछि पच्छयाँउछ ।
कयौं महिना अघिदेखि म मर्छु भन्दा, अब मलाई बाच्ने रहरहरु छैन भन्दा पनि त्यो बूढो मृत्युदूतले मलाई अवाक्क लाग्दो जिवनको भिक्षा दान दिइरहेछ । मेरै छेउका कति ओछयानहरु फेरिए, मेरै गाँउका कयौंले त्यहीबाट मृत्युुदान पाए तर मैले अझ सम्म पर्खिरहनु परेको छ । म संग संस्मरणका कति तिता घाउहरु अझ बाँकी छन् । बाँच्न खोज्दा बाँच्न नपाएका कयौं विद्यार्थीहरु, कवि, कलाकार र पत्रकारहरुलाई मैले अझसम्म पनि सम्झिरहेको छु । एक दिन बाँच्न खोज्दा खोज्दै एउटा पत्रकारले मर्नु परेको थियो । उसले बाँच्न पाएन । ऊ संग जिवनको अर्थ थियो । बाँच्नुको अर्थ थियो । तर कयौंको पुकारलाई पनि मृत्युदुतले सुन्न सकेन । ढुङ्गा र फलामबाट निर्मित उसको हृदय पग्लिन सकेन । एउटा भर्खरै विवाह गरेको स्वास्नीको लोग्नेले बाँच्न पाएन ।
त्यो बूढीको एक्लो डाक्टर छोराले बाँच्नु पथ्र्यो । तर त्यो बूढीको प्रार्थना सुनेर बूढो मृत्युदुत एकपल्ट फेरि मुस्कुराएको थियो । देश र राष्ट्रको सम्पति त्यो प्रसिद्ध कवि मर्यो । जनताको प्यारो त्यो कलाकार मर्यो । तर म भने बाँचिरहेको छु जसको बाँच्नुको कुनै अर्थ थिएन, कुनै आवश्यकता र प्रायोजन बाँकी थिएन । मैले त्यो कविको ठाँउमा मर्नु पर्थ्यो, कलाकारको ठाँउमा मर्नु पर्थ्यो । कालो र चिसो रातमा एउटा बाक्लो झाडीभित्र मेरो बेकम्मा लासलाई मिल्काई दिनु पर्थ्यो । म यत्रो लामो जिन्दगी बाँच्न चाहन्नथे । जिन्दगीदेखि मलाई अघोरै घृणा जागिसकेको छ । हो ! म बाँच्न चाहन्न, मलाई मर्न देऊ, मलाई जलेर भष्म र खरानी हुन देऊ, म धूवाँ र आगोमा अनुवाद हुन चाहन्छु । म यो अस्पतालको गन्धबाट भाग्न चाहन्छु, टाढा टाढा जहाँ मेरो मायालु शान्तीको दर्शन मिल्ला । म मेरा पापी छोराहरुदेखि लुक्न चाहन्छु । म पुनः यो मत्र्यलोकको जन्म चाहन्न, चाँडै मृत्यु चाहन्छु, पुर्नजन्म चाहन्न । म यो अस्पतालका कोठाहरुमा बसेर जिउँदै ताता कराहीका तेलहरुमा पाक्न चाहन्न ।
ए मृत्युदूत मलाई मृत्यु देऊ !
ए मृत्युराज मलाई मृत्यु देऊ !