काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृगौला प्रत्यारोपण शल्यकृया सुरू भएको छ।
नेपालका अत्यन्त दक्ष तथा अनुभवी डाक्टरहरुको टिम रहेको यस अस्पतालले गत असार २७ गतेदेखि मृगौला प्रत्यारोपण शल्यकृया शुरु गरेको अस्पतालले जनाएको छ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पहिलोपटक काठमाडौं गोकर्णेश्वर नगरपालिकाका रबिन लामाको मृगौला प्रत्यारोपण गरिएको थियो । उनलाई आफ्नै सहोदर बहिनी उमा लामाले मृगौला दान गरेकी थिइन्।
मृगौला प्रत्यारोपण शल्यकृयाको नेतृत्व प्रा. डा. प्रेमरमज ज्ञवालीले गरेका थिए। नेफ्रोलोजी टिमको नेतृत्व प्रा. डा. दिव्या सिंह शाहले गरेकी थिइन्।
मृगौला प्रत्यारोपणको टिममा डा. पवन राज चालीसे, डा. अनिल श्रेष्ठ, डा. भोजराज लुईटेल,डा. सुरेन्द्र बिक्रम अधिकारी, डा.उपेन्द्र जोशीको सकृय सहभागिता थियो ।
त्यसैगरी एनेस्थेसिया टिमको नेतृत्व डा. मुरारी राज उप्रेतीले गरेका थिए भने उनको टिममा डा. अर्चन अधिकारी र डा. सुवास प्रसाद आचार्यको संलग्नता थियो ।
उमा लामाको मृगौला रबिन लामाको शरीरमा प्रत्यारोपण गर्न जम्मा ३ घण्टा ३३ मिनेट समय लागेको प्रा.डा. प्रेमराज ज्ञवालीले बताए।
चार दिनअघि मात्र मृगौला प्रत्यारोपण शल्यकृया गरिएका बिरामीहरुको स्वास्थ्यस्थिति हाल सामान्य भइसकेको र उनीहरू अस्पतालबाट डिस्चार्ज हुनका लागि तयार रहेको प्रा.डा. ज्ञवालीले जानकारी गराए।
काठमाडौंका निजी अस्पतालमा मृगौला प्रत्यारोपण शल्यकृया शुरु गर्ने ग्रान्डि अन्तर्राष्ट्रिय अस्पताल पहिलो अस्पताल हो।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहेको अत्याधुनिक अप्रेशन थिएटर र बिश्वस्तरका उपकरणहरुको सहयोगमा यस किसिमका बिशिष्ट शल्यकृयाहरु सम्भव हुने गरेको दाबी अस्पतालले गरेको छ।