काठमाडौं विश्वविद्यालयमा मेडिकल साइन्स पोष्ट ग्राजुएसनको प्रवेश परीक्षामा हस्तक्षेप गर्नुपहिले प्रमाण मेटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यहाँका सिसी क्यामेरा ‘सिज’ गरेको खुलेको छ।
जेठ १५ गते लिन लागेको पिजीको परीक्षामा प्रश्नपत्र किनबेच भएको दाबी गरी ती प्रश्नपत्र रद्द गराउने भन्दै अख्तियार केयु पुगेको थियो। जेठ १३ गते पुगेको अख्तियारले आफू सँगसँगै लगेको ‘विशेषज्ञ टिम’ले प्रश्नपत्र तयार पारेको थियो।
अख्तियार केयु जानुअघि नै त्यहाँका १४ वटा सिसी क्यामरा ‘सिज’ गरिएको केयु स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ। ‘क्यामेराले काम नगर्ने बनाइएको थियो, हाम्रा सुरक्षा गार्डहरु पनि थिएनन्, अख्तियारका कर्मचारी, विज्ञ र प्रहरी नै खटिएका थिए,’ केयु स्रोतले भन्यो।
सह–सचिव विकेन्द्र श्रेष्ठको नेतृत्वमा ५८ जना प्रहरी र ‘विज्ञ’हरु केयु पुगेका थिए। अख्तियारको अनुगमन महाशाखा प्रमुख एसपी भरत शर्मा र सहन्यायधिवक्ता पदमप्रसाद पाण्डे पनि टोलीमा थिए।
प्रश्नपत्र तयार गरिरहेका बेला अख्तियारले हस्तक्षेप गरी आफूले लगेको ‘विज्ञ’ भनिएको उक्त टोलीमार्फत प्रश्न बनाएको थियो।
अख्तियार केयु पुग्दा प्रश्नपत्र बनिसकेकै थिएन। जेठ १४ गते साँझसम्म प्रश्नपत्र तयार गरिसक्ने केयुको तयारी थियो। अख्तियार भने १३ गते नै पुग्यो, आफैं प्रश्नपत्र बनायो।
आयोगले कम्प्लेन छ, हामी आफैं प्रश्नपत्र बनाउँछौँ भनेपछि केयुका अधिकारीहरु केही बोल्न सकेका थिएनन्। प्रहरी र अख्तियारको टोली नै देखेर तर्सेका केयुका अधिकारीहरुले उनीहरुले जे भन्छन् त्यही मानेका थिए।
अख्तियारको ‘विज्ञ टोली’मा मेडिकल काउन्सिलका शिक्षा समिति संयोजक डा. सुप्रभात श्रेष्ठ, काउन्सिलका पूर्व उपाध्यक्ष डा. नीलमणि उपाध्याय, प्रहरी अस्पतालका डा. सरोज श्रेष्ठ, किस्ट मेडिकल कलेजका ऋषिकेशनारायण श्रेष्ठ, टिचिङ्ग अस्पताल महाराजगञ्जका डा. शशी शर्मा, डा. सुबोध अधिकारी र डा. राजन क्षेत्री थिए। ‘विज्ञ टोली’का सदस्य अख्तियार आफैंले छानेको थाहा भएको छ।
विश्वविद्यालयको धुलिखेलस्थित मेडिकल कलेज र सम्बन्धप्राप्त कलेजहरूमा भर्नाका लागि आवेदन दिने र प्रवेश परीक्षामा सामेल हुने १५४५ क्लिनिकल साइन्सेज, १७४ जना बेसिक साइन्सेज र ६२ जना एमडिएस विद्यार्थी थिए।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीले आफ्नो पदको दुरुपयोग गरी मेडिकल कलेजमा हस्तक्षेप गरेको भन्दै वरिष्ठ चिकित्सक गोविन्द केसी उनलाई महाअभियोग लगाउन माग गर्दै छ दिनयता अनसन बसिरहेका छन्। केसीले चिकित्सा क्षेत्र सुधारसँगै यो हस्तक्षेपको कुरा उठाएका थिए।
केसीले पटक–पटक आफ्नो तथा आफन्तको निहित स्वार्थका लागि अख्तियार प्रमुख कार्कीले काम गर्ने गरेको र भ्रष्टहरुलाई संरक्षण दिएर राम्रा मान्छेलाई निरुत्साहित गर्न खोजेको बताएका थिए।