करिब दुई वर्षयतादेखि हिंसाको चपेटेमा परेको दक्षिण सुडानमा मानवीय सहयोगमा खटिएका राष्ट्रसंघीय एवम् अन्य विदेशी दाता एजेन्सीका सहायताकर्मीमाथिको आक्रमण रोकिएको छैन।
केही समययता देखि यसरी उनीहरुमाथि हमला हुने गरेको संयुक्त राष्ट्रसङ्घले बिहीबार जानकारी दिएको छ। संयुक्त राष्ट्रसंघले यस्ता सहायताकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ।
संयुक्त राष्ट्रसंघका अनुसार सहायताकर्मीमाथि बुधबार र बिहीबार हमला भएको छ। यस क्रममा दुईजनाको ज्यान गएको छ।
बुधबार मात्र पनि मानवीय सहायताका लागि खटेका राष्ट्रसंघीय एजेन्सीका सहायताकर्मीलाई राजधानी जुबा नजिकै एक नगरमा मला गरिएको छ। त्यसैगरी बिहीबार गरिएको यस्तै अर्काे आक्रमणमा परी अर्का एकजना पनि मारिएका छन्। त्यस आक्रमणको जिम्मेवारी यहाँका विद्रोहीले लिएका बताइएको छ।
गत मे महिनाबाट संयुक्त सरकारको निर्माण भएयता सुडानमा कैयौं सहयताकर्मीको हत्या भएको बताइएको छ। यहाँका विद्रोहीले उनीहरुलाई तारो बनाउने गरेका छन्। प्राप्त समाचारमा सुडानमा पछिल्लो समयमा हिंसा झनै बढेको र यस हिंसाका कारण सुडानमा लाखौँ लाख नागरिकलाई आधारभूत वस्तुहरुको आवश्यकतामा भएको बताइएको छ।
सुडानमा कम्तीमा पनि ४६ लाख नागरिकलाई यस्तो सहायताको खाँचो पर्ने जनाइएको छ। सो खाँचो बमोजिम उनीहरुलाई ठूलो रकम पनि आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घले सन् २०१६ मा यहाँका नागरिकलाई आवश्यक पर्ने खाद्यान्नसहितको आवश्यकताको बारेमा प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा सुडानमा ४६ लाख व्यक्तिको लागि मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्र सङ्घले जानाएको छ।
ती व्यक्तिहरुको लागि नौ करोड ५२ लाख अमेरिकी डलर बराबरको रकम आवश्यता परेको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ता स्टेफन डुजारिकले समाचारदताहरुलाई बताए। यसै कारण पनि राष्ट्रसङ्घले विश्वका दाताहरुलाई पनि यसमा सघाउ पुर्याउन आह्वान गरिरहेको छ। तर यहाँका विद्रोहीले भने यसरी आवश्यकताको पूर्तिका लागि त्यहाँ पुगेका अधिकारीलाई हमला गर्ने गरेका छन्।
सन् २०१३ को डिसेम्बरबाट दक्षिणी सुडानमा सुरु भएको द्वन्द्वको कारण सो समयदेखि हालसम्म करिब ६० जना सहयताकर्मी मारिएका छन्। गएको मे महिनाबाट सहयोगकर्ताहरुलाई गोली, एम्बुस आक्रमणहरु भएका संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला समन्वय विभागले जानकारी दिएको छ।
दक्षिणी सुडानमा सन् २०१३ को डिसेम्बरबाट विद्रोह सुरु भएको छ। सैनिक विद्रोहबाट सुरु भएको हिंसाले हाल सुडानबासीलाई आक्रमण गरिरहेको बताइएको छ। जारी द्वन्द्वको कारण एक लाख ५८ हजार सर्नसाधारण अझै पनि संयुक्त राष्ट्रसङ्घका विभिन्न शिविरमा बस्दै आएका छन्। तर उनीहरुलाई आवश्यक परेका वस्तुको उपलब्धता भने छैन। रासस/सिन्ह्वा