भानुजयन्तीको अवसर पारेर गीतान्जली कलेज नयाँबजार काठमाडौंले १८ फुटबल खेलाडीलाई ११ र १२ अध्ययनको लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। १८ खेलाडीहरू मध्ये १६ वर्ष मुनिका ८ जना रहेका छन्। यस छात्रवृत्ति पाउने मध्ये ६ खेलाडीहरू अन्जन विष्ट, एलेन न्यौंपाने, प्रकाश बुढाथोकी, मानबहादुर तामाङ, सरोज दाहाल, विश्वास श्रेष्ठ हाल राष्ट्रिय समूहबाट फुटबल खेलिरहेका छन्। गत साफ खेलमा नेपाललाई जिताउन उनीहरूको महत्वपूर्ण योगदान दिएका थिए।
सो अवसरमा क्याम्पस प्रमुख राजेन्द्र प्रसाद कोइरालाले खेलाडीहरूलाई खादा ओढाएर अभिनन्दन गरेका थिए। यसका साथै विद्यालयमा अध्ययनरत अन्तर्राष्ट्रिय आर्चरी खेलाडी सुनिता मोक्तान र बास्केटबलका राष्ट्रिय खेलाडी सदिश प्रधान पनि कार्यक्रममा सम्मान गरिएको थियो। राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीको महासचिव टेन्डि शेर्पाले विद्यालयले गरेको प्रयासको सह्राना गरेका थिए। कार्यक्रम राष्ट्रिय फुटबलका क्याप्टेन बिराज महर्जन, अन्तर्राष्ट्रिय फुटबल खेलाडी रोहित चन्द, नेपाल बुद्धिचाल संघका उपाध्यक्ष नारायण दास कमालको विशेष अतिथ्यतामा भएको थियो।
विद्यालयका प्रवन्ध निर्देशक बेदप्रसाद पन्तले देशको गहनाका रुपमा रहेका खेलाडीहरूको विकासमा विद्यालयले योगदान दिन पाएकोमा खुशी व्यक्त गरेका थिए। खेल र स्वास्थ्य जीवन मानिसको लागि अपरिहार्य छ भन्ने सोचका साथ विद्यालयले खेलाडीहरूलाई अघि बढ्न प्रेरित गर्ने विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।