व्यवस्थापिका–संसद् सचिवालयमा सरकारको विरोधमा आज दर्ता भएको अविश्वास प्रस्ताव परिपक्व हुन संसद् नियमावलीअनुसार एक साता लाग्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफूहरुको विश्वास नरहेको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) ले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सो जानकारी दिए।
उनले नियमावलीको नियम १६० को प्रयोग गर्ने सन्दर्भमा सभामुखले आफ्नो तजबिजीमा सो प्रस्तावलाई एक साताभित्र छलफलको प्रक्रिया अघि बढाउन सक्नुहुने बताए।
सो नियम सभामुखले निलम्बन गरेमा एकसाता नपुग्दै पनि प्रस्तावमा छलफल अघि बढ्न सक्नेछ। अविश्वास प्रस्ताव पारित भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।
व्यवस्थापिका–संसद् बैठक आज बिहान ११ बजेका लागि तोकिएकोमा पछि ३ बजेसम्मको लागि स्थगित भएको थियो। व्यवस्थापिका–संसद बैठक साँझ पाँच बजेसम्म सुरु हुन सकेको छैन आजको कार्यसूचीमा अविश्वासको प्रस्तावको कार्यसूची छैन। रासस