सत्ता साझेदार राप्रपा नेपालले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन वटा विकल्प रहेको भन्दै जुन विकल्प रोजेपनि प्रधानमन्त्री ओलीलाई साथ दिने निर्णय गरेको छ ।
राप्रपा नेपालको कार्यसम्पादन समिति र संसदीय दलको बुधबार अपरान्ह सिंहदरबारमा बसेको संयुक्त बैठकले प्रधानमन्त्री ओलीले रोज्ने विकल्पमा साथ दिने निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष कमल थापाले ओली नेतृत्वको सरकार निर्माणमा पार्टीको सहयोग रहेको र पार्टी अहिले सरकारमै रहेको भन्दै प्रधानमन्त्रीलाई साथ दिने बताए। उनले प्रधानमन्त्री ओली राजीनामा दिने र विश्वासको मत लिने पक्षमा नरहेको तथा अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले तेस्रो विकल्पमा प्रधानमन्त्रीलाई सहयोग गर्ने बताएका हुन्।
बैठकमा पार्टी अध्यक्ष थापाले सरकारमा रहेर पार्टीले निरुत्साहित हुनुपर्ने एउटै काम नगरेको बरु गर्व गर्न लायकको छवि बनाएको दाबी गरे। उनले काँग्रेस र माओवादी नयाँ सरकार गठनको कसरतमा लागे पनि सिंगो सरकारप्रति जनताको धारणा सकारात्मक रहेको दाबी गरे। उनले जनजीविकाको विषयमा ठोस काम गर्न नसकेपनि दक्षिणी छिमेकी भारतले लगाएको नाकाबन्दीका बेला राष्ट्रिय स्वार्थमा आँच आउन नदिनु तथा उत्तरी छिमेकी चीनसँग दीर्घकालीन महत्व राख्ने सम्झौता गर्नुले आमजनताले सरकारलाई सकारात्मक रुपमा लिएको बताए।
राप्रपा नेपालले राप्रपासँग एकीकरण गर्ने विषयमा निर्णय लिन साउन ११ गते केन्द्रीय समितिको बैठक बोलाएको छ।