नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतको चाहना अनुसार सरकार परिवर्तन भएको बताएका छन्।
रफत सञ्चार क्लबले बुधबार आयोजनामा गरेको साक्षात्तकार कार्यक्रममा बोल्दै बिजुक्छेले भारतको निर्देशनमा नेपाली काँग्रेसका सभापति देउवा र नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार परिवर्तन गरेको दाबी गरेका छन्।
मुलुकको आवश्यकताले भन्दा पनि भारतको चाहनाले सरकार परिवर्तन भएको उनले बताए।
बिजुक्छेंले चीनका राष्ट्रपतिको नेपाल भ्रमण तय भए त्यसले नेपाल र नेपालीको हितमा हुन सक्ने ठानेर भारतले देउवा र प्रचण्डलाई गोटी बनाएको आरोप लगाए।
उनले भ्रमणले सम्झौतालाई ओझेलमा पार्ने खेलकै कारण सरकार परिवर्तन भएको भन्दै नयाँ सरकारले चीनसँग गरिएका सम्झौताको कार्यान्वयन नगरे यसबाट ठूलो क्षति बेहुर्नुपर्ने बताए।
उनले सभामुखको भूमिकामासमेत प्रश्न गर्दै भने, ‘वर्तमान सभामुख ओनसरी घर्ती निवासमा काँग्रेस र माओवादी केन्द्रका नेताहरुको बैठकपछि सरकार परिवर्तनको डिजाइन गरिनु र चलखेल हुनुले सभामुखको निष्पक्ष र तटष्ठतामा विश्वास भएन।’
सरकार परिवर्तनसँगै भूकम्पपीडित, बाढी पहिरोपीडित, मधेशको समस्या समाधानको पाटो र संविधान कार्यान्वयनको पाटोमा समस्या देखिने उनको भनाई छ।
उनले मधेशबादी दलहरु चेस खेलमा सिपाही भएको भन्दै उनीहरुले राजनीतिमा कुटनीतिक सफतला हासिल नगरेको र भारतको गोटी भएको चर्चा गरे। सरकार परिवर्तनसँगै देखिएको नयाँ सरकार गठनको बिषय जटिल रहेको र यसतर्फ संबैधानिक जटिलताहरु समेत रहेकाले सरकार गठनका विषय त्यति सहज नभएको उनले बताए।