वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अनसन बस्दा पातलो ज्यान भएका, झुस्सझुस्स दाह्री–जुँगा पालेका एक युवक सधैं अनसनस्थलमा देखिन्छन्- चुपचाप।
विगतका दुई अनसनमा कति रात उनले अनसनस्थलमै अनिँदो काटे- चुपचाप।
कति दिन डा. केसीको सेवा र आगन्तुकको निम्ति प्रबन्ध मिलाउन अरू मेडिकल विद्यार्थीसँगै खटिए- चुपचाप।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथितिविरुद्ध डा. केसीको निष्ठाको लडाइँमा सामेल यी युवकको उपस्थिति नै यति ‘चुपचाप’ छ, कसैलाई उनी भए-नभएको आभाषसम्म नहुन सक्छ।
उनलाई धेरैले देखेका छन्, तर उनी कसैका आँखामा बसेका छैनन्।
विगतका अनसनमा सधैं देखभेट र हेराहर भए पनि हाम्रो उनीसँग बोलचाल भएको थिएन। सिधा डा. केसीसँग भेट्यो, फर्क्यो। यसपालि उनीसँग कुराकानी गर्ने साइत जुर्यो।
हामी सोमबार दिउँसो पुग्दा डा. केसी निदाएका रहेछन्। छेउमै तिनै युवक थिए, आगन्तुकहरूलाई बस्ने ठाउँको प्रबन्ध मिलाउँदै, आफ्नो उही पुरानै पारामा- चुपचाप।
साँघुरो-अँध्यारो त्यो अनसनस्थलमा एउटा बेड थपिएको हामीले देख्यौं। त्यसैबारे कुराकानी गर्न उनलाई बाहिर डाक्यौं।
कुराकानीपछि सोध्यौं, ‘तपाईं कुन लेभलको विद्यार्थी?’
उनले भने, ‘म यहाँको विद्यार्थी होइन।’
अचम्म मान्दै सोध्यौं, ‘कहाँको त?’
‘म त कानुनको विद्यार्थी, ल क्याम्पसमा एलएलबी पढ्छु।’
जुन युवकलाई हामीले धेरै समयदेखि केसीको अनसनस्थलमा देख्दै आएका थियौं, ती युवक उनका विद्यार्थी होइनन् भन्ने थाहा पाएपछि हामी तीनछक्क पर्यौं।
‘यहाँ कसरी त?’
उनले जे जवाफ दिए, त्यो झनै रोचक थियो।
२७ वर्षीय ती युवक हुन्, अनिल कार्की। दोलखा जिल्लाको सुकाठोकार गाविसका अनिलले पहिलोपटक डा. केसीलाई भेट्दा पाँच कक्षा पढ्दा रहेछन्। त्यतिबेला गाउँमै थिए उनी। औषधिको भारी बोकेर देशभरि डुली हिँड्ने केसी त्यस वर्ष दोलखा पुगेका रहेछन्, उनै अनिलको गाउँमा।
उनले थाहा पाएसम्म जिन्दगीमा वरिष्ठ डाक्टर भेटेको पहिलो अवसर त्यही थियो।
‘हाम्रो स्कुलमा औषधि बाँडेको याद छ, सानोमा देखेको राम्ररी सम्झना छ,’ अनिलले भने, ‘उहाँ मेडिकल क्षेत्र सुधारका लागि लड्ने मान्छे हो भनेर बुझ्न चाहिँ धेरै समय लाग्यो।’
धेरै वर्षपछि जब उनै डाक्टर स्वास्थ्य सेवामा व्याप्त बेथिति र भ्रष्टाचारविरुद्ध अनसन बसेका छन् भन्ने अनिलले थाहा पाए, उनी भेट्न आए। यो झन्डै चार वर्षअघिको कुरा हो। त्यसयता उनी डा. केसीको अभियानमा निरन्तर साथ छन्।
‘सुरु-सुरुमा दिउँसो मात्र बस्थेँ, अघिल्लो वर्षदेखि मिलेसम्म राति पनि यहीँ सुत्छु,’ अनिलले सेतोपाटीसँग भने।
अनिलका बाबु तोत्रबहादुर कार्की काठमाडौंमै ट्याक्सी चलाउँछन्। चिकित्सा क्षेत्रसँग उनको एउटै साइनो छ, बिरामीको। यसबाहेक उनलाई व्यक्तिगत रूपमा डा. केसीको अभियानसँग लिनुदिनु केही छैन। यसले उनलाई केही प्रत्यक्ष लाभ पुग्ने पनि होइन। तर, जबदेखि उनले केसीकै मुखबाट यो क्षेत्रमा व्याप्त बेथितिबारे बुझ्ने मौका पाए, उनी निष्ठाको लडाइँमा उसैगरी होमिएका छन्, जसरी टिचिङ अस्पतालका एमबिबिएस विद्यार्थी र रेजिडेन्ट डाक्टरहरू।
‘उहाँको माग समग्र देशको चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित छ। एक नागरिकका नाताले म त्यसबाट भाग्न सक्दिनँ,’ उनले भने, ‘उहाँको लडाइँ हाम्रै निम्ति हो।’
उनको आफ्नै भोगाइले पनि कता-कता यो आन्दोलनमा होमिन हौस्याउँदो रहेछ।
सामान्य परिवारका अनिलले गाउँकै कालिका माविबाट २०६० सालमा एसएलसी पास गरेका थिए, ७६ प्रतिशत ल्याएर। उनले विज्ञान पढ्ने सोच बनाए। घरपरिवारले पनि त्यस्तै सुझाव दिए। उनी सदरमुकाम आए। कालिञ्चोक मावि, चरिकोटमा विज्ञान विषय लिएर प्लस-टु भर्ना भए।
एसएलसीमा आएको नतिजा र घरपरिवारको दुःख सम्झेर मेहनतसाथ अध्ययन गर्नु उनको प्रमुख उद्देश्य बन्यो। उनले पहिलेभन्दा बढी मेहनत गरे। प्लस-टुमा झन् राम्रो नतिजा आयो, ८२ प्रतिशत।
कक्षा ५ मै छँदा डा. गोविन्द केसीसँगको भेटले हुनसक्छ, उनको मनमा डाक्टर बन्ने उद्देश्य हुर्किन थालेको थियो।
उनले मेडिकल पढ्ने विभिन्न विकल्पमा विचार पुर्याए। पैसा तिरेर पढ्ने ल्याकत थिएन। छात्रवृत्तिमा एमबिबिएस पढ्न पाइन्छ भन्ने सुनेका थिए। उनले आवदेन दिए।
‘फारम भरेँ, परीक्षा दिएँ, मेरिटमा नाम पनि निस्कियो,’ उनले २०६३ सालको घटना सम्झँदै भने, ‘मेरिटमा नाम निस्किए पनि छात्रवृत्तिमा एमबिबिएस पढ्न पाइनँ।’
एसएलसी र प्लस-टुमा राम्रो अंक ल्याउँदा र एमबिबिएस प्रवेश परीक्षामा मेरिटमा नाम निकाल्दा पनि डाक्टरी पढ्न नपाएको त्यो घटना उनको मनमा खिलझैं गड्यो। आखिर किन भयो यस्तो? उनलाई दिनरात यही प्रश्नले गिजोल्न थाल्यो।
‘यस्तो घटना त यहाँ धेरै हुँदो रहेछ,’ उनले भने, ‘मैले आफूजस्तै पीडित धेरै साथीभाइ देखेको छु।’
अनसन क्रममा डा. केसीकै मुखबाट उनले ‘मेडिकल माफिया’ का बारेमा सुने। माफियाको चलखेलका कारण कसरी मेरिटमा नाम निकालेका विद्यार्थी पनि एमबिबिएस पढ्नबाट वञ्चित हुँदा रहेछन् भन्ने थाहा पाए। त्यसपछि उनलाई महसुस भयो, उनी आफू पनि मेडिकल माफियाबाट शिकार रहेछन्।
‘उहाँ पहिलोपटक अनसन बस्नुभएको सामाजिक सञ्जालमार्फत थाहा पाएँ। उहाँका कुरा सुनेँ। भेटेर आफ्नो व्यथा सुनाउन मन लाग्यो,’ अनिलले भने, ‘म पनि मेडिकल माफियाको शिकार हुँ नि भनेर भन्न लाग्यो।’
‘मैले टिचिङ आएर डाक्टरसापलाई भेटेँ। आफ्नो भोगाइ सुनाएँ। सानो छँदा भेटेको पनि सुनाएँ। उहाँलाई कसरी याद हुनु!’ उनले भने।
त्यसयता अनिल सधैं केसीकै वरिपरि छन्। आफूलाई उनको सहयोगी ठान्छन्। केसीको निष्ठा र सिद्धान्तबाट प्रभावित छन्। मेडिकल विद्यार्थी नभए पनि निष्ठाको यो लडाइँमा उनको चेला बनेर साथ दिन चाहन्छन्- चुपचाप।
‘तपाईं चुपचाप यसरी दिनरात लागेको डाक्टरसापलाई थाहा छ त?’ हामीले सोध्यौं।
‘किन नहुनु! तिमी आएका थियौ है भनेर पछि भन्नुहुन्छ,’ अनिलले भने।
...
एमबिबिएस पढ्न नपाएर निराश भए पनि अनिलले हरेस खाएनन्।
उनी त्रिचन्द्र कलेज भर्ना भए। राजनीतिशास्त्रमा स्नातक गरेपछि गाउँ फर्के। आफू पढेकै स्कुलमा पाँच वर्ष पढाए। २०७१ मा फेरि काठमाडौं फर्किएर नेपाल ल क्याम्पस भर्ना भए। उनी अहिले एलएलबी तेस्रो वर्ष पढिरहेका छन्।
अनिललाई केसीको आन्दोलनको भावले यतिसम्म छोएको छ, उनी यो लडाइँले पूर्णता नपाएसम्म आन्दोलनमा सँगसँगै उभिन चाहन्छन्।
‘उहाँको आन्दोलनले भ्रष्टहरूलाई तर्साउँछ, सुधारको आवाज उठ्छ, समाजमा तरंग ल्याउँछ, मलाई छोएको त्यसैले हो,’ उनी भन्छन्, ‘मजस्तै आर्थिक अवस्था कमजोर भएका मान्छेले पनि डाक्टरी पढ्न पाउन् भन्ने उहाँको चाहना छ, कम्तीमा नाम निस्केर पनि पढ्न नपाउने अवस्था नआओस् भन्ने मेरो चाहना छ।’
‘यो लडाइँमा म अरू केही सहयोग गर्न सक्दिनँ, म मेडिकल विद्यार्थी होइन। धेरै कुरा त बुझ्दा पनि बुझ्दिनँ। तर, मेरो पूर्ण सहयोग र समर्थन उहाँको साथ छ। आफ्नो तर्फबाट जे सकिन्छ त्यही गर्ने कोसिसमा छु,’ अनिलले भने।
त्यही भएर हो, अनसनस्थलमा अनिलको आवाज कतै सुनिन्न।
उनी त्यहीँ हुन्छन्, तर उनको उपस्थिति देखिँदा पनि देखिन्न।
उनी अनसनस्थलमा आइपर्ने स-साना काममै आफूलाई भुलाइरहेका हुन्छन्- चुपचाप।