प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटीको बैठक सकिएको छ। बैठकले माओवादी केन्द्रले सरकारबाट लिएको समर्थन फिर्ताको निर्णय दूर्भाग्यपूर्ण रहेका निष्कर्ष निकालेको छ।
वर्तमान सरकार अत्यन्त प्रतिकूल परिस्थितिमा गठन भएको र मुुलुकका सामु उत्पन्न अनेकौं चुनौतीहरूको सामना गर्दै राजनीतिक स्थायित्व कायम गर्ने दिशामा अगाडि बढिरहेको अवस्थामा माओवादी निर्णय भएको भन्दै यसले राजनीतिक अस्थिरता र संविधान कार्यान्वयनमा प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको बैठकले दाबी गरेको छ।
‘वर्तमान सरकार बनेयता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधीनता, स्वाभीमान, राष्ट्रिय हितको रक्षा, आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तराष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्र राष्ट्र भारत र चीनको भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुर्याउन सक्ने सम्भावनाप्रति पार्टी गम्भीर बनेको छ,’ महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मिति : २०७३/०३/२८
प्रेस वक्तव्य
नेकपा एमाले स्थायी कमिटिको ४० औं विशेष बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा बस्यो । बैठकले देहायको विशेष निर्णय गरेको छ .
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने नेकपा (माओवादी–केन्द्र) को निर्णय देशका लागि दुर्भाग्यपूर्ण छ । वर्तमान सरकार अत्यन्त प्रतिकूल परिस्थितिमा गठन भएको र मुुलुकका सामु उत्पन्न अनेकौं चुनौतीहरुको सफलतापूर्वक सामना गर्दै राजनीतिक स्थायित्व कायम गर्ने दिशामा दूरगामी महत्वका निर्णयहरु गर्दै अगाडि बढिरहेको यथार्थ सर्वविधितै छ। सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा नेकपा (माओवादी केन्द्रको यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गंभीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको छ । वर्तमान सरकार बनेयता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधिनता, स्वाभीमान, राष्ट्रिय हितको रक्षा,आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तराष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्र राष्ट्र भारत र चिनको भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुर्याउन सक्ने संभावनाप्रति पार्टी गंभीर बनेको छ।
नेकपा (एमाले) जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र यसबीचमा सरकारबाट अगाडि बढाइएका अग्रगामी र जनपक्षीय सामाजिक आर्थिक कार्यक्रमहरुको पक्षमा दृढतापूर्वक अगाडि बढ्नेछ। राजनीतिक अस्थिरताको घडीमा राजनीतिक विकृतिले प्रश्रय नपाउन् र आधारभूत राष्ट्रिय हितमा आँच पुर्याउने कुनै पनि काम कार्बाही हुन नपाउन् भन्ने कुरामा सजग रहन र संविधान, राष्ट्रिय हित र एकताको पक्षमा एकतावद्ध भएर अगाडि बढ्न सबै प्रगतिशील र देशभक्त शक्तिहरुलाई नेकपा (एमाले) आह्वान गर्दछ।
नेकपा (एमाले) उत्पन्न राजनीतिक समस्याको संंविधानसम्मत समाधानको दिशामा दृढतापूर्वक अगाडि बढ्नेजानकारी गराउदछौं।
ईश्वर पोखरेल
महासचिव