प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट अलग्गिने नेकपा माओवादी केन्द्रको निर्णयबारेमा आफूले विचार गरिरहेको बताएका छन्।
सरकारबाट अलग्गिने माओवादी केन्द्रको पत्र पाएलगत्तै मन्त्रिपरिषद्को अनौपचारिक बैठक बोलाएका प्रधानमन्त्री ओलीले बैठकपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा माओवादी केन्द्रको निर्णयबारे विचार गरिरहेको बताएका हुन्।
सरकार अल्पमतमा परेको अवस्थामा राजीनामा दिनुहुन्छ या अन्य विकल्पतिर लाग्नुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यसबारेमा पनि विचार गरिरहेको प्रतिक्रिया दिए।
मन्त्रिपरिषद्को अनौपचारिक बैठकमा सरकार अल्पमतमा परेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा सामान्य छलफल भए पनि कुनै निर्णय हुन सकेन। उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले माओवादीले सरकारबाट वाहिरिएर सरकार गठन हुँदा ताकाको १४ बुँदे सहमतिको ठाडो उल्लंघन गरेको भन्दै अबको कदमका विषयमा दलहरुसँग छलफल गरेर ठोस निर्णय लिने बताए।
करिब ४० मिनेटसम्म चलेको बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई बुझाएको पत्र पढेर सुनाइएको थियो।
भिडियो