आइतबार दिवगंत भएकी लोकतान्त्रिक आन्दोलनकी योद्धा उमादेवी शर्माको सोमबार विराटनगरमा अन्त्येष्टि गरिएको छ। कांग्रेसका नेता शेखर कोइरालाले शर्माको पार्थिव शरीरलाई नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिए। उनको पार्थिव शरीरलाई नेपाल ट्रेड यूनियन कांग्रेसका नेता लक्ष्मण बस्नेत र सुशील नाहाटाले दागबत्ती दिए।
अन्त्येष्टि कार्यक्रममा कांग्रेस मोरङ, सुनसरीका नेता, सांसद, ठूलो संख्यामा कांग्रेस कार्यकर्ता, जिल्लास्थित सुरक्षा प्रमूख, सरकारी कार्यालयका प्रमूखहरू लगायत सर्वसाधारणको ठूलो उपस्थिति थियो।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रको कदमको विरोध स्वरूप कालो झन्डा देखाएपछि उनलाई ४ वर्ष सरकारले जेल राखेको थियो। त्यतिबेला जेलमै रहेकी नोना कोइरालासँग भेट र चिनजान भएकै कारण शर्मा कोइराला परिवारसँग नजिकिएकी थिइन्। जेलबाट छुटेको केही समयपछि नोना कोइरालाले नै शर्मालाई विराटनगरस्थित कोइराला निवास लिएर लिएकी थिइन्।
२०३४ सालदेखी कोइराला निवासमा बस्दै आएकी शर्माले नोना कोइरालाको निधनपछि निवासको सम्पूर्ण जिम्मेवारी सम्हालेकी थिइन्।