झापामा अब लोकल गाडीमा नन स्टपको बोर्ड राखेर चलाउन नपाइने भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पहलमा जिल्लाका विभिन्न यातायात व्यवसायी संघ संगठनहरुसंगको शुक्रबार भएको छलफलबाट लोकल बसहरुमा नन-स्टप लेखेर चलाउन नपाइने सहमति भएको हो।
सहमति कार्यान्वयनस्वरुप यातायात व्यवसायी संघ संगठनहरुको उपस्थितिमा ट्राफिक प्रहरीले शुक्रबारै ५० भन्दाबढी त्यस्ता सवारी साधनहरुमा लगाइएको नन-स्टपको बोर्ड झिकेका छन्।
पहिलो चरणमा काँकडभिट्टा बसपार्कबाट धरान, विराटनगरका लागि छुट्ने त्यस्ता बसहरुबाट बोर्ड झिकिएको र सम्बद्ध यातायात व्यवसायी संघ संगठन तथा चालक, सहचालकहरुलाई सो कार्यमा सहयोग गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए।
पूर्व-पश्चिम तथा मेची राजमार्ग अन्तर्गत लामो तथा मध्यम दुरीको यातायातहरुमा यात्री झुक्याउने उदेश्यले लोकल गाडीमा नन-स्टपको बोर्ड राखेर चलाएको कारण यात्रीहरुले हैरानी व्यहोर्नु परेको गुनासो आएपछि उक्त कार्यको थालनी गरिएको प्रहरी निरीक्षक गिरीले बताए।