साहित्यकार झमककुमारी घिमिरे बोल्न सक्दिनन् । बोल्न नसक्ने मात्र होइन हिंड्न पनि सक्दिनन् । र, उनका हात पनि चल्दैनन् ।
शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिको सूचीमा परेपनि तथा आफूलाई लागेका कुरा बोलीमार्फत व्यक्त गर्न नसके पनि झमकले जीवनको ३४ वर्ष विताउने क्रममा १३ वटा कृति लेखेकी छिन् । १३ औं कृति मंगलबार ३५ औं जन्मदिनको अवसर पारेर काठमाडौमा सार्वजनिक गरिएको छ।
प्रेमिल आकाश नामको झमकको कविता संग्रह प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरे। १३ औं कविता संग्रह सार्वजनिक हुँदासम्म झमकले थुप्रै पुरस्कार पाइसकेकी छिन् । थुप्रै पुरस्कारको सूचीमा प्रतिष्ठित मदन पुरस्कार पनि पर्छ । झमकको जीवन काँडा कि फुल कृतिले पाँच वर्ष पहिले मदन पुरस्कार पाएको हो।
त्यो कृतिको हिन्दी संस्करण तथा अडियो क्यासेट पनि सार्वजनिक गरिएको छ । जीवन काँडा कि फुल यसअघि अंग्रेजी, चिनियाँ र असमेली भाषामा समेत प्रकाशित भइसकेको छ। शारीरिक रुपमा हिंड्न नसक्ने तथा बोल्न नसक्ने झमकले आफूलाई लागेका कुरा हातले लेखेकी होइनन् । उनका १३ वटा कृति खुट्टाका उपज हुन् । खुट्टाका औंलाले कलम च्यापेर लेख्न कति गाह्रो भयो होला । धनकुटाको कचिडेकी झमकले बाल्यकालमा अक्षर सिक्नका लागि गरेको संघर्षको सानो झलक सिलगुढीकी अवस्था थापाले कार्यक्रममा प्रस्तुत गरिन्।
झमकको बाल्यकाल सम्झाउने अवस्थाको प्रस्तुतिले काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्वेटमा उपस्थित धेरैका आँखा रसाए । अक्षर लेख्न सकेकामा बाल्यकालमा झमक निकै खुशी भएकी थिइन् । तर उनले त्यो खुशी देखाउन सकेकी थिइनन् । यो वृतान्त झमकले आफ्नो जीवन काँडा कि फुल कृतिमा उल्लेख गरेकी छिन्। कार्यक्रममा क लेख्न सकेको झमकको बाल्यकालको खुशी अवस्थाले भने नृत्यमार्फत प्रकट गरिन् ।
कार्यक्रममा झमकको बाल्यकालको सम्झना गराउने प्रस्तुति हेरेपछि तथा झमकका कृतिहरुको विमोचनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले झमकमा रहेका शारीरिक कमजोरी हटाउने सबै प्रयास गर्न चिकित्सकहरुसँग आग्रह गरे। उनले चिकित्सकहरुले झमकमा रहेका शारीरिक कमजोरीको उपचार गर्न सके त्यसका लागि लाग्ने सबै खर्च सरकारले व्यहोर्ने बताए।
प्रधानमन्त्री ओलीले झमकको संघर्षबाट प्रेरणा लिन सबैसँग अपिल समेत गरे। कार्यक्रममा सहभागीहरुले झमकलाई जन्मदिनको शुभकामना दिएका थिए।