मुस्किलले ज्यान बच्यो, तर घर रित्तोयाे। आमाबाबु, दिदीबहिनी र दाजुभाइ कोही रहेनन्। अस्पतालबाट निको भएर फर्किंदा घरमा दुई माना चामलबाहेक केही भेटिएन। सम्पत्तिको नाममा दुई गरा जमिन र त्यसैमा बनेको एउटा झुप्रो घर। दाजु र बहिनीको नासो त्यही मात्र बाँकी रह्यो। कान्तिपुर दैनिकमा समाचार छ।
काल्पनिक कथाजस्तो लाग्ने घटना पाँचथरमा जंगली च्याउ खाँदा परिवारै गुमाएका परिवारको कारुणिक बास्तबिकता हो। सदरमुकाम फिदिमदेखि १२ कोस दक्षिणमा पर्ने आङ्ना १ स्थित ८ वर्षीया मुनुशा माङ्लाक र उनका दाजु १६ वर्षीय रामप्रसाद बिचल्लीमा परेका छन्।
गत जेठ १० गते जंगलबाट ल्याएको विषाक्त च्याउ खाँदा परिवारै बिरामी परे। विषाक्त च्याउले आमा, बाबु, दिदी र बहिनी गुमाए उनीहरुले। बिरामी परेकामध्ये ४५ वर्षीया आमा पद्ममाया, ४७ वर्षीय बाबु वीरेन्द्र, मनुसाकी दिदी १३ वर्षीया कविता, बहिनी ५ वर्षीया सोनिका र बडीआमा ३९ वर्षीया मनकुमारीसहित एकै परिवारका ५ जनाको ज्यान गयो।
विगतमा पनि खाँदै गरेकाले मुनुसा, ठूलोबुबाका छोराहरू सगुन र संगम माङ्लाकले नजिकै बारीमा उम्रेको च्याउ टिपेर ल्याएका थिए।