बुटवल बेलहिया सडकको निर्माण सम्पन्न भएको स्थानमा सडक प्रयोग गर्ने पैदलयात्री असुरक्षित भएको गुनासो आएपछि सुरक्षित यात्रा अभियान नेपालले कालिका माध्यमिक बिद्यालय बुटवलका बिद्यार्थीहरुलाई सुरक्षित सडक पार गर्न प्रशिक्षण दिएको छ।
निजी तथा सार्वजनिक सवारी हाक्ने सवारी चालकको हेपाह प्रवृतीले सडकमा रहेका जेब्राक्रसहरुबाट वारपार गर्ने पैदलयात्रीहरु जोखिममा परेको भन्दै अभियानले पहिलो चरणमा बुटवलको कालिका माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई सबैभन्दा बढी ब्यस्त हुने समय बिहान साढे नौंदेखि १० बजे सम्म र साँझ ४ बजेदेखि ५ बजे सम्म सडक पार गर्ने अभ्यास गराएको हो।
जेब्रा क्रसबाट बाटो पार गरिरहेका साना बालबालिकाहरुलाई तर्साउने गरी कतिपय चालकहरुले बिच बाटै सवारी छिराउने तथा चर्को हर्न बजाएर बालबालिकालाई तर्साउने गरेको पाईएपछि प्रथम चरणमा सचेत गराउदै बिद्यार्थीहरुलाई सडक पार गर्न सहयोग पुर्याउन चालकहरुलाई आग्रह गरिएको थियो।
सुरक्षित यात्रा अभियानका पदाधिकारी तथा स्वयं सेवकहरु तथा पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अधिकृत तथा जवानहरुले बिद्यार्थीहरुलाई सडक पार गर्न सहयोग गर्ने तथा सवारी चालकहरुलाई जेव्राक्रसमा पैदलयात्रीलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।
बिशेषगरी मोटरसाईकल चालक र साना सवारी साधनका चालकहरुले सडकमा आईसकेपछि पनि जवर्जस्ती सवारी साधन घुसाई बालबालिकाहरुलाई जोखिममा पारेको पाईएकोले सतर्कता अपनाउन आग्रह गर्दै सडक पार गर्न अभ्यास गराईएको सुरक्षित यात्रा अभियान नेपालका अध्यक्ष नारायण अधिकारीले बताए ।
निर्माणाधिन अवस्थामा रहेको बेलहिया बुटवल व्यापारीक मार्गको ड्राईभरटोल बुटवल सडक खण्डमा सवारी हाक्ने चालकहरुले तिब्र गतिमा हाक्ने तथा नियम पालना नगर्दा दुर्घटनाको जोखिम बढेको छ।
सुरक्षित यात्रा अभियानले जेब्राक्रसमा पैदल यात्रीहरुलाई प्राथमिकता दिन सवारी चालकहरुलाई अनुरोध गर्दै आएको छ।
सवारी चालकले खुल्ला सडकमा तिब्रगतिमा सवारी हाक्दा पछिल्लो समय बुटवल बेलहिया सडक खण्डका निर्माण सम्पन्न भएका सडकहरुमा दैनिक जसो दुर्घटना भएका छन् भने पैदल यात्रुले जेब्राक्रसमा समेत अत्यन्त असुरक्षित महसुस गरेका छन्।
सवारी तथा यातायात व्यवस्था ऐनमा जेब्राक्रसमा बाटो पार गर्न लागेको पैदलयात्रीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको भएतापनि ति स्थानहरुमा अनुगमन गर्ने निकायको ध्यान नपुग्दा चालकहरुले त्यसलाई लत्याउदै बल मिच्याई गर्दै आएका छन्।
यस्तै प्रवृतीले दुर्घटना बढाएपछि सरकारले चालकहरुलाई कानुनको दायरामा ल्याउने प्रयत्न गर्दा यातायात मजदुर संगठन र व्यवसायीबाट बिरोध हुँदै आउने गरेको छ ।