मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो र डुबानका घटना बढिरहेका बेला सरकारले स्थिति काबुभित्रै रहेको बताएको छ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले मनसुन सक्रिय भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए।
उनले तराईका जिल्लाहरुमा डुबानबाट मानवीय क्षति हुन नदिनका लागि खासगरी ठूला नदीहरुमा पानीको बहावका बारेमा माथिल्लो तटिय क्षेत्रबाट तल्लो तटीय क्षेत्रका जानतालाई सूचना दिने प्रणाली विकास गरिएको भन्दै निरन्तरको वर्षाका बाबजुद देशभरको स्थिति सरकारको नियन्त्रणमा रहेको बताए। उनले पहिरोका कारण धादिङमा १९ परिवार बिचल्लीमा परेकाले उनीहरूको उद्दार प्रयास भइरहेको र अन्यत्र पहिरोले अप्ठेरोमा पारेको जानकारी मन्त्रालयमा नआएको बताए।
प्रवक्ता कोइरालाले बाढी, पहिरो र डुबानबाट मानवीय क्षति हुन नदिनका लागि देशका सबै जिल्लामा सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको दाबी गरे। उनले प्राकृतिक प्रकोपका घटनामा उद्दार र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त रुपमा परिचालन गर्ने व्यवस्था मिलाइएको बताए।
गृह मन्त्रालयले बाढी पहिरो तथा डुबान लगायतका प्राकृतिक प्रकोपमा उद्दार र राहतको काम प्रभावकारी बनाउन आफूलाई पाँच वटा हेलिकप्टर चाहिने बताएको छ। मन्त्रालयले पाँचवटै विकास क्षेत्रमा एक–एक वटाका दरले हेलिकप्टर चाहिने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराइसकेको पनि बताएको छ।
हेर्नुहोस् भिडियो