दाङका थारुहरुले दशैंमा नाच्ने सखिया पैया नाच होस् वा प्युठानका फाँटहरुमा दशैकै कोजाग्रत पूर्णिमाका दिन हातमा तरवार लिएर नाचिने सराय नाच होस् वा सल्यानको टप्पा, रुकुमको मयूर र रोल्पाको ज्यो–मारे नाच किन नहोस्। सबैको उत्तिकै महत्व छ, उत्तिकै चर्चा हुन्छ। अझ चर्चा गर्न लायक त्यो क्षण बन्यो जब यी पाँचै जिल्लाका प्रख्यात नाच एउटै कार्यक्रम, एउटै मञ्चमा एकै दिन देखाइयो।
राप्ती अञ्चल आफैमा सांस्कृतिक विविधताको संगम हो, त्यसमा पनि रुकुम अग्रस्थानमा छ। केही समय अघि रुकुममा ‘सांस्कृतिक प्रबर्धन वर्ष’को भब्यरुपमा शुभारम्भ गर्दा त्यही देखियो पाँचै जिल्लाका आआफ्नै पहिचान झल्किने नाच।
रुकुमको मुसिकोटमा एक दिन भएपनि कला संस्कृतिमा रमाउनेहरु दिनभर नै पाँचै जिल्लाका लोक नाच हेरेर राम्रैसँग रमाए। लोक नाचहरु देखाएर रुकुम सांस्कृतिक प्रबर्धन वर्षको शुभारम्भ गरियो भने तकसेरामा आदिवासी जनजाति महोत्सवको आयोजना गरेर शुभारम्भ गरिएको रुकुम भ्रमण वर्षको पनि समापन गरियो।
रुकुम आफैमा कला, संस्कृति र पर्यटनले भरिपूर्ण जिल्ला हो। राप्तीको प्राकृतिक पर्यटनमा रुकुम निकै अगाडि छ। नदी, हिमाल, ताल र ऐतिहासिक युद्धस्थल रुकुमका पर्यटकीय सम्पदाहरु हुन्। यी सम्पदाको प्रचारप्रचार गरेर पर्यटन विकास अघि बढाउन रुकुमले संस्थागतरुपमा अभियान पनि चलाइरहेको छ। गएको वर्ष रुकुम भ्रमण वर्ष सञ्चालन गरिएको थियो।
रुकुम भ्रमण वर्षमा ३ सय २५ बाह्य र ३ सय ४५ आन्तरिक पर्यटकले पर्यटककै रुपमा भ्रमण गरेको रुकुमका स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिए। विभिन्न जातजातिका भेषभूषा, भाषा, कला र संस्कृतिलाई बचाएर पर्यटन प्रबर्धनमा लगाउन सांस्कृतिक प्रबर्धन वर्षको शुभारम्भ गरिएको उनले जानकारी दिए।
सांस्कृतिक वर्ष अबधिभर गाविसस्तरीय, स्थानीयस्तरका मेला महोत्सवमा प्रतियोगितात्मक लोक नाच हुनेछन्। आगामी दिनमा राष्ट्रियस्तरका लोक नाच प्रदर्शनका लागि सहयोगी हुने गरी स्थानीयस्तरमा संस्कृति संरक्षणका कार्यक्रम सञ्चालन गरिने वताइएको छ।