नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले दुई देशबीचका कूटनीतिविद्को ‘प्रबुद्ध समूह’ (इपिजी) को पहिलो बैठक असार २० र २१ गते काठमाडौँमा हुने भएको छ।
बैठकमा दुवै मुलुकलाई लाभ हासिल हुनेगरी संयुक्तरुपमा काम कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल हुनेछ। दुई देशबीच अहिलेसम्म भएका सबै सन्धि सम्झौताका बारेमा पुनरावलोकन गर्नका लागि बैठकले दुवै राष्ट्रका प्रतिनिधिलाई क्षेत्राधिकार निर्धारण गर्नेछ।
दुई वर्षसम्मको समयावधि रहेको प्रबुद्ध समूहले प्रत्येक तीन महिनामा यस किसिमको बैठक पालैपालो दुवै देशमा गरिनेछ।
नेपालका तर्फबाट प्रबुद्ध समूहमा डा भेषबहादुर थापा, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा राजन भट्टराई छन्। प्रबुद्ध समूहका सदस्य डा भट्टराईले नेपालमा हुन लागेको पहिलो बैठकमा दुवै देशका सहभागी प्रतिनिधिबीच एकअर्कालाई बुझ्नका लागि परिचयात्मक कार्यक्रम गरी विगतका सन्धि सम्झौता पुनरावलोकनका लागि स्वरुप तयार गरिने जानकारी दिए।
पहिलोपटक हुन लागेको बैठकलाई महत्वका साथ हेरिएको छ। रासस