प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमाथि संविधानको कार्यान्वयनमा उदासीन बनेको आरोप लगाएका छन्।
प्रधानमन्त्री ओलीले बिहिबार काँग्रेसकै नेता तथा कार्यकर्ताहरुले भरिएको हलमा पुगेर संविधान जारीपछि काँग्रेसले विस्तारै बाटो बिराएको र आफ्नो नेतृत्वमा जारी भएको संविधानको कार्यान्वयनप्रति नै उदासीनता देखाएको आरोप लगाए।
जीपी कोइराला फाउण्डेशनले गिरिजाप्रसाद कोइरालाको ९३ औं जन्मजयन्तीको अवसर पारेर विहिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस काँग्रेस पार्टीको रुपमा चिनिनुमा गिरिजाप्रसादको असाधारण योगदान रहेको तर अहिले काँग्रेसले नै गिरिजाप्रसादको योगदानलाई भुलेको आरोप लगाए।
उनले सरकारको आलोचनामा समय खर्च गर्नुको साटो बाउलाई ओडारमा छोडेपछि बच्चाले डोको त लिएरै जानुपर्ला बा भनेको सम्झिएर आफ्नो नेतृत्वमा जारी भएको संविधानको कार्यान्वयनमा केन्द्रीत हुन सुझाव दिए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानमा गरिएको व्यवस्था अनुसार अबको डेढ वर्षभित्र स्थानीय र प्रदेश तह तथा संघीय संसद्को निर्वाचन हुन नसके मुलुक २०४६ साल अगाडिको अवस्थामा फर्किने खतरा औंल्याए। उनले संविधानलाई ख्यालठट्टाको रुपमा नलिन आन्दोलनरत मधेशवादी दलहरुलाई सुझाव दिंदै वार्तामार्फत समस्याको समाधानका लागि उदार हुन सरकारसँग पनि आग्रह गरे।
प्रधानमन्त्री ओलीले भने, ‘मजदुर आन्दोलन, भारतमा भएको स्वतन्त्रताको आन्दोलन, राजनीतिक दलको गठन, आन्दोलन, परिवर्तनमा स्व कोइरालाको ठूलो योगदान रहेको छ।’ प्रधानमन्त्री ओलीले कोइरालाले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफैं आन्दोलनको आँधी बेहरीमा होमिएर त्यसलाई कुन दिशामा अगाडि राम्रो हुन्छ भन्ने बारेमा ठूलो भूमिका खेलेको स्पष्ट पारे।
उनले जतिबेला राष्ट्र सङ्कटमा पर्छ त्यतिबेला आफ्नो विचारको बलले शान्तिलाई सही मार्गमा फर्काउन कोइरालाले ठूलो भूमिका खेलेको बताए। ‘संविधान निर्माण गर्ने ठूलो इच्छा कोइरालामा रहेपनि उहाँ बितेर जानुभयो । अहिले मुलुकले संविधान पाएको छ, यसलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल एक हुनु आवश्यक छ,’–प्रधानमन्त्री ओलीले थपे।
कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री विजयकुमार गच्छदारले मधेश समस्याको समाधान गरेर संविधानको कार्यान्वयनका लागि सबैभन्दा ठूलो दलको नाताले नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्ने बताए। उनले आफू सरकारको जिम्मेवार मन्त्री भए पनि अहिलेको वहुमतीय सरकारबाट संविधानको कार्यान्वयन हुनै नसक्ने बताए। उनले सहमतीय सरकार गठनका लागि पहल गर्न काँग्रेससँग आग्रह समेत गरे।
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री गच्छदारले यो अभिव्यक्ति दिइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने कार्यक्रमस्थलबाट वाहिरिइ सकेका थिए।