बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले मानसिक स्वास्थ्यका निम्ति योग तथा ध्यानलाई संगठनिक रूपमा नै प्रचार-प्रसार गर्ने भएको छ।
राजधानीमा बिहीबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा नयाँ शक्ति प्रमुख भट्टराईले उक्त कुरा बताएका हुन्। ‘योग ध्यान वा विपासना जस्ता कुरा शारीरिक तथा मानसिक स्वास्थ्यका फाइदाजनक हुन्छ,’ भट्टराईले भने, ‘विज्ञानले नै त्यसलाई प्रमाणित गरिसकेको छ।’
उनका अनुसार विगतमा कुनै देशको प्रगति नाप्ने कुरा आर्थिक वृद्धिले निर्धारण गर्थ्यो र त्यसपछि मानव विकास सूचांक आयो,’ उनले भने, ‘अहिले ‘ह्यापिनेस’ पनि आएको छ र त्यसलाई नाप्ने नयाँ विधि निर्धारण गरेर अघि बढ्न सकिन्छ।’
उक्त कार्यक्रममा भट्टराईले आफू पनि योग अभ्यास गर्ने गरेको कुरा खुलाए। ‘म पनि योग अभ्यास गर्छु। सुखासनमा बस्नु भयो भने तनाव कम हुन्छ,’ उनले थपे, ‘यस्तो सन्देश सबैलाई दिन पाए राम्रो हुने थियो।’
योग तथा ध्यान प्रवर्दन गर्न नयाँ शक्ति संगठनिक रुपमा नै लाग्ने छ। त्यसैले पार्टीले नयाँ विभाग नै गठन गरेको छ - ‘स्वास्थ्य तथा योग साधना विभाग।’ त्यसको नेतृत्व गरेका गरेका छन् पार्टी नेता डा. प्रविण मिश्रले। उनले विभागले विभिन्न कार्यक्रम तय गरेर योग-ध्यान बारे प्रचार-प्रसार गर्नेछ।