विगतको परम्परालाई निरन्तरता दिँदै आन्दोलनरत मधेसी मोर्चा लगायतका साना दलले व्यवस्थापिका संसदको बिहीबारको बैठक पनि बहिष्कार गरेका छन्।
सभामुख ओनसरी घर्तिमगरले सदनको बैठक शुरू गर्नासाथ मधेसी मोर्चा सांसद उभिएर विरोध जनाएका थिए।
त्यसपछि सभामुखले संघीय समाजवादी फोरमका सांसद डिलबहादुर नेपालीलाई बोल्न समय दिइन्।
सांसद नेपालीले गत वर्ष प्रमुख ठूला दलले विश्वव्यापी लोकतान्त्रिक मान्यता विपरित संविधान बनाउने नाममा उत्पीडित जनताको अधिकार कुण्ठित गरेको आरोप लगाए।
उनले फास्टट्रयाकबाट संविधान बनाउने नाममा विगतका सहमति र सम्झौता विपरित जनताको अधिकार खोसी बनाएको संविधानमा खोसिएका अधिकार स्थापित गर्न आन्दोलनरत दलको माग अहिलेसम्म सुनुवाई नभएको भन्दै सभामुखसँग प्रश्न गरेः ‘सभामुख महोदय यो व्यवस्था कुन व्यवस्था हो? कुनै जाति, वर्ग समुदाय र भूगोलका मानिस उभिएर आवाज उठाएमा संसदमा सुनुवाइ हुन्छ तर अरूको किन सुनुवाई हुदैन?’, उनले भने। राज्य जात, क्षेत्र र वर्गको आधारमा अर्थात नस्लबादी सोचका आधारमा चलेको भन्दै यस अवस्थामा संसदमा ८ दलले उठाएका माग पूरा नभएसम्म र संविधान पुर्नलेखन नभएसम्म सदन बहिष्कार गर्ने भन्दै बाहिरिएका थिए।