लापरबाही गरी बस दुर्घटना गराएको भन्दै एकजना बस चालकलार्इ दुर्इ वर्षको कैद सजाय सुनाइएको छ।
जिल्ला अदालत गुल्मीले चालक पाल्पा अर्गली–२ निवासी २५ वर्षीय श्रीधर पाण्डेयलाई दुई वर्षको कैद सजायको फैसला सुनाएको हो।
बस चालक पाण्डेले नौ महिनाअघि रेसुङ्गा नगरपालिका–१४ अन्तर्गत बुटलबाट तम्घास आउने क्रममा उर्लेनीमा लापरबाही तरिकाले बस दुर्घटना गराएको अभियोगमा पक्राउ परेका थिए।
उनलाई जिल्ला अदालत गुल्मीका न्यायाधीश मातृकाप्रसाद मरासिनीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) बमोजिम दुई वर्ष कैदको फैसला सुनाएका हुन्।
पाँचजनाको ज्यान जानेगरी भएको उक्त दुर्घटनामा लापरबाहीको अभियोग लागेका पाण्डेयलाई प्रहरी आफैले तीव्र गति भनी दिएको बयान, भिडियो रेकर्ड, सडक दुर्घटनाको अवस्था, प्रत्यक्षदर्शी र घाइतेको भनाइका आधारमा उक्त फैसला गरेको न्यायाधीश मरासिनीले बताए। रासस