पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले संविधानमा भनिएअनुसार मुलुकमा राजनीतिक पद्धति अझै स्थापित हुन नसकेको बताए।
पैसठ्ठीऔँ मदन भण्डारी जयन्तीका अवसरमा एमालेले आज यहाँ आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र आर्थिक, सामाजिक रुपान्तरण अबको वाटो’ विषयको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘संविधानले निर्दिष्ट गरेको राजनीतिक पद्धतिलाई संस्थागत गर्न स्थानीय, प्रान्तीय र केन्द्रीय गरी तीन तहको निर्वाचन हुन आवश्यक छ ।’
लोकतान्त्रिक, देश भक्तिपूर्ण, प्रगतिशील र समाजवाद उन्मुख अहिलेको संविधानको चरित्र भएको बताउँदै उनले यही चरित्रलाई आत्मसात् गरेर नै मुलुकलाई आर्थिक समृद्धि र विकासका बाटोमा डोर्याउन सकिने बताए।
यसैबीच, सोही दिवसका अवसरमा आज एमाले बाँकेले आयोजना गरेको खुल्ला डबल्स व्याडमिन्टन प्रतियोगिताको पूर्व प्रधानमन्त्री खनालले उद्घाटन गरे। त्यस अवसरमा उनले खेलकुदको विकासलाई राज्यले राष्ट्रको प्रगति र चिनारीसँग जोड्न सक्नुपर्ने बताए।
बुधबारसम्म सञ्चालन हुने सो प्रतियोगितामा ३० वर्षभन्दामाथिका १६ टोलीका ३२ खेलाडीको सहभागिता रहेको छ । रासस