शिक्षा मन्त्रालयले एसएलसी परीक्षामा ए प्लसदेखि इ सम्मको ग्रेडिङ्ग ल्याउने सबै विद्यार्थीले अध्ययनको अवसर पाउने दाबी गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले विद्यार्थीहरुले क्षमता अनुसार अध्ययनको अवसर पाउन् भनेरै लेटर ग्रेडिङ्ग प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको भन्दै एसएलसीमा सहभागी ५ लाख ८८ हजार विद्यार्थीमध्ये कसैले पनि अध्ययनको अवसरबाट वञ्चित हुनु नपर्ने दाबी गरे। उच्च माध्यमिक शिक्षा परिषद् अन्र्तगत सञ्चालित ३ हजार ६ सय उच्च मावि र प्राविधिक शिक्षा तथा व्यसायिक तालिम परिषद् (सीटीइभिटी)अन्तर्गत शिक्षण संस्थासँग भने ४ लाखभन्दा बढी विद्यार्थी पढाउन सक्ने क्षमता नै छैन। शिक्षा पत्रकार सञ्जालले मंगलबार काठमाडौमा गरेको अन्तक्रिया प्रवक्ता डा. लम्सालले खासगरी डी र ई ल्याउने विद्यार्थीलाई लक्षित गरेर सिटिइभिटी अन्तर्गत शिक्षण संस्थाहरुको संख्या थप गर्ने गृहकार्य भइरहेको बताए।
एसएलसीमा करिब २ लाख विद्यार्थीले डी र ई ल्याएका छन्। डी र ई ल्याउने विद्यार्थीले ११ कक्षामा भर्ना हुन पाउँदैनन्। तर सीटीइभिटीसँग डी र ई ल्याएकामध्ये आधा विद्यार्थीलाई पनि भर्ना गर्ने सक्ने क्षमता छैन। सिटिइभिटीका सदस्यसचिव डा. रामहरि लामिछानेले आफूहरुसँग टिएसएलसी तहमा २० हजार तथा डिप्लोमा तहमा २० हजार विद्यार्थीलाई मात्र पढाउन सक्ने क्षमता रहेको बताए। उनले सिटिइभिटी अन्र्तगत ८० प्रतिशत विद्यार्थी फेल भइरहेकाले तथा प्राविधिक शिक्षा महङ्गो भएकाले अभिभावकको लगानी नफसोस् भनेर कम्तीमा तीन विषयमा सी ग्रेड ल्याएका विद्यार्थीले मात्र डिप्लोमा तह अध्ययन गर्न पाउने निर्णय गरिएको बताए।
सीटीइभीटीका सदस्यसचिव डा. लामिछानेले डी र ई ल्याएका विद्यार्थीलाई लक्षित गरेर कुकिङ, प्लम्बिङ, वेल्डिङ लगायतका केही विषयमा एक वर्षे कोर्स सञ्चालनको तयारी गरिरहेको बताए। अन्तक्र्रियामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले सबै विद्यार्थीलाई अध्ययनको अवसर दिने नाममा प्राविधिक शिक्षाको गुणस्तर कमजोर पार्न खोजिएको बताए।