अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डा. गोबिन्द के.सीले प्रमुख आयुक्त लोकमानसिंह कार्की र अन्य आयुक्तमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेको माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक भएको बताएको छ।
आइतबार अख्तियार प्रवक्ता कृष्णहरी पुष्करद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ डा. केसीद्वारा आज जारी प्रेस-बिज्ञप्ति मार्फत नेपाल सरकारसँग प्रस्तावित बिभिन्न मागको फेहरिस्तमा आयोगका माननीय प्रमुख आयुक्त तथा माननीय आयुक्तहरु माथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाहि प्रक्रिया आघि बढाउन राखेको मागप्रति आयोग कडा शब्दमा भर्त्सना गर्दछ।’
‘आयोग, मागको फेहरिस्तमा समुल्लेखन भएजस्तो आफ्ना कुनैपनि पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्सा क्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अबरुद्द तुल्याएको, भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी बिशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन वाध्य तुल्याएको भन्ने जस्ता तुच्छ अभियोगको तथ्यगत परिपुष्टीका लागि डा. के.सी.लाई चुनौति दिन चाहन्छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ।
जहाँसम्म काठमाण्डौं विश्वबिद्यालयको प्रवेश परिक्षामा हस्तक्षेप गरेको भन्ने थप आक्षेपको प्रश्न छ सो विषयमा सरोकारवालाहरुको असीमित उजुरीपछि आयोगले सम्बद्द नियामक निकाय “मेडिकल काउन्सिललाई” परीक्षाको निष्पक्षता परिक्षणका निम्ति निर्देशन दिएको तथ्य आयोग स्पष्ट पारेको विज्ञप्तिमा जनाइएको छ।