शनिबार बिहानदेखि जारी अबिरल वर्षाका कारण विराटनगरको दर्जनौं घरमा पानी पसेको छ भने सडकहरु भरिएर दुई फिटमाथिबाट पानी बगिरहेको छ।
विराटनगरमा सडक विस्तार र ढल निर्माणको काम भइरहेको कारण पानीको समुचित निकास हुन नपाउँदा अधिकांश व्यक्तिको घरमा पानी पसेको हो।
बिहान ५ः३० बजेदेखि जारी अबिरल वर्षाले गर्दा बसपार्क डुबानमा परेका छन्। बजारका मुख्य सडक पनि जलमग्न अवस्थामा देखिन्छन् ।
लगातार वर्षाका कारण विराटनगर विमानस्थलसमेत प्रभावित भएको छ। बिहानदेखि कुनैपनि विमान अवतरण नभएको विराटनगर विमानस्थलले जनाएको छ।
निरन्तर रुपले वर्षा भइरहेका कारण मोरङ जिल्ला भएर बग्ने नदीको जलस्तर वृद्धि भएको छ। बाढीबाट अतिप्रभावित मधुमल्ला र हसन्दहको जनजीवन कष्टकर बनेको छ।
ती दुई गाविसमा केही दिनअघि खोलाको पानी पस्दा ५० भन्दा बढी परिवार विस्थापित भएका थिए।रासस