बेपत्ता श्रीमान्को खोजी गर्न आग्रह गर्दै रुकुम खलङ्गा–२ की गङ्गा खड्का अहिले विभिन्न सरकारी कार्यालय धाइरहेकी छन्।
विसं २०७१ साउन २९ गते काठमाडौंको सतुङ्गलस्थित डेराबाट बेपत्ता श्रीमान् राजेन्द्रको खोजी गर्न आग्रह गर्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी कार्यालय तथा राष्ट्रिय मानव अधिकार आयोग धाइरहेकी छन्। “श्रीमान् हराएदेखि नै खोजिदिन आग्रह गर्दै विभिन्न कार्यालय धाएँ”– उनले भनिन्, “अहिलेसम्म कसैले पनि खोजिदिएका छैनन् ।”
गङ्गाको आफ्ना श्रीमान् जीवित वा मृत जे भए पनि यथार्थ जानकारी पाइयोस् भन्ने चाहना छ । उनले मानव अधिकार आयोग र प्रहरी अपराध महाशाखामा पनि बेपत्ता श्रीमान् खोजीका लागि निवेदन दिएकी छन्। सशस्त्र प्रहरी बल, रक्तकाली गण सुर्खेत, बाङ्गेसिमलमा हवल्दार पदमा जागिरे राजेन्द्र सतुङ्गलस्थित डेरामा आएका बेला दुई वर्षदेखि बेपत्ता भएको २६ वर्षीया गङ्गाले बताइन्। “त्यो दिन मलाई घुम्न जाऔँँ भन्नुभयो, म गइन, घुमेर साँझ आउनुभएको थियो”– गङ्गाले भनिन्, “साँझ आएपछि भेट भयो, म भान्सामा पसेपछि उहाँ कता जानुभयो कता ?”
उनले श्रीमानई खोजी गरिदिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्तिबहादुर बस्नेतसँगै भेटेरै आग्रह गरेकी छन्। “प्रधानमन्त्रीले मेरो श्रीमान् हराएकाप्रति चासो राखेका छन्”– गङ्गाले भनिन्, “प्रधानमन्त्रीबाट श्रीमान्का बारेमा केही थाहा पाइन्छ कि भन्ने आशा पलाएको छ ।”
श्रीमान् सशस्त्र प्रहरीमा रहेकाले सशस्त्र प्रहरीको प्रधान कार्यालयमा उनी धेरै पटक श्रीमान् खोजिदिन आग्रह गर्दै पुगे, तर कार्यालयले श्रीमान्को खोजी गर्न कुनै पहल नगरेको गुनासो उनको छ । “हराएको दिन साँझ नीलबाराही गणमा कार्यरत प्रहरी जवानले राजेन्द्रको खोजी गरेका थिए”– उनले भने, “प्रहरीले डेरा नजिकैको बलम्बु खोलामा समेत खोजेका थिए तर त्यसपछि कसैले खोजी गरेको छैन ।” जागिरे श्रीमान् हराएपछि आठ वर्षको छोरालाई पढाउन समस्या परेको उनले बताइन्। रासस