सधैं स्रोत-साधनसम्पन्न भएर बसेका र शक्तिमा समेत रहेका पूर्वमन्त्री रमेशनाथ पाण्डेले आफ्नो उपचार निम्ति सरकारले दिएको पैसा थोरै भएर फिर्ता गरे। उता, राजधानीका अस्पतालमा यस्ता कयौं बिरामी भेटिन्छन्, जसको पैसा नभएर उपचार हुन सकेको छैन।
वीर अस्पताल बेड नम्बर ३६८!
राज आचार्य ९० दिन भयो अस्पताल आएको। यही बेडमुनिको चिसो भुइँमा खेल्दाखेल्दै छोरी नै चार महिना पुगिसकिन्।
‘पैसा नभएर बूढाको अप्रेसन गर्नै सकिएन,’ राजकी श्रीमती उर्मिलाले बाबुछोरीलाई देखाउँदै भनिन्, ‘छोरी नै यहीँ हुर्किसकी।’
उनकी छोरी बाबुको अनुहार हेर्दै खेलिरहेकी थिइन्। पातलो ज्यानका राज मुखमा मास्क लगाएर छोरीलाई जिस्काइरहेका थिए।
राजलाई क्षयरोग लागेको छ। एकातिरको फोक्सोमा पानी जमेको छ। अर्को छेउ पाकेर पिप जमेको छ। राज पानी सुकाउने औषधि खाएर बसेका छन्। सरकारले निःशुल्क दिने र बेलाबेला अस्पताल आउने मनकारीले किनिदिएका औषधिले नै अहिलेसम्म धानिएका छन् उनी।
उनको खास समस्या फोक्सोमा जमेको पानी र पिप हो, जसलाई अप्रेसन गरेर निकाल्नुपर्छ भनी डाक्टरले भनेका छन्। ३०–३५ हजार जति लाग्छ रे, अप्रेसनका लागि। त्यही पैसा जुटाउन नसकेपछि उनको अप्रेसन रोकिएको छ।
‘अप्रेसन गर्नुअघि चाहिने औषधिकै त्यति लाग्दो रहेछ,’ उर्मिलाले भनिन्।
वीरका निर्देशक डा. स्वयंप्रकाश पण्डितले भने अस्पतालले सक्नेजति सहयोग गरिरहेको बताएका छन्।
‘अस्पतालमा पाइनेजति औषधि निःशुल्क गरिदिएका छौं, बेड र अन्य उपचारको पैसा लिएका छैनौं, अब अप्रेसन गर्ने कुरा छ, त्यो पनि निःशुल्क हुन्छ,’ उनले सेतोपाटीसँग भने, ‘आफूकहाँ नभएको औषधि अन्तबाट किनेर ल्याएर उपचार गर्न वीरले सक्दैन। एउटाको गरेर भएन, सबैलाई बराबर गर्नुपर्यो। हामीलाई त्यस्तो गर्न कानुनले दिएको छैन, स्रोत पनि छैन।’
वीर आइपुगेका राज र उनीजस्तै विपन्न बिरामीहरूको समस्या मन्त्रीसँग राखिसकेको डा. पण्डितले जनाए।
मन्त्रीले समेत आफ्नो समस्या थाहा पाएको सुनेपछि सरिताको आस बढेको छ। ‘पैसा नभएर अप्रेसन रोकिएको थियो, मन्त्रीले पनि दिन्छु भनेका छन्,’ उनले भनिन्, ‘एक जना दिदीले पनि सहयोग गर्छु भन्नुभएको थियो।’
राजको गाउँ सिन्धुपाल्चोकको नवलपुर हो। तीन वर्षअघि ‘देउता लागेर’ राजकी आमा वनमा बस्न थालेकी थिइन्। त्यसपछि राजको पढाइ छुट्यो। उनलाई सानैदेखि साइन्स पढ्ने रहर थियो। आमालाई यताउता नभएको भए अहिले कलेज जाँदै हुन्थे।
एसएलसी दिएपछि राज बाबुसँगै भाँडा व्यापारमा हिँडे। उनीहरू पुराना भाँडासँग नयाँ साट्न डोकोमा बोकेर गाउँगाउँ डुल्थे। त्यही बेला राज र उर्मिलाको बिहे भएको थियो।
भागेर बिहे गरेकाले अहिलेसम्म उर्मिलालाई माइतीले बोलाएका छैनन्। काठमाडौं पसेपछि उनीहरू दुवैले इँटाभट्टामा काम गरेका थिए। २०७२ वैशाख १२ को भुइँचालोमा घर जगैदेखि भत्किँदा बुवा भित्रै परे। आमा पनि वनमा गएको पहिरोमा पुरिएर बितिन्। त्यसयता उनी गाउँ गएका छैनन्। भाइलाई मामाले लिएर गएका छन्।
भक्तपुरको एउटा इँटाभट्टामा काम गर्ने उनीहरू भट्टामै बस्थे। भुइँचालो गएयता उनीहरूको घरबार भन्नु नै त्यही भट्टा थियो। भट्टाको झ्याउली छाडेर जान अर्को ठाउँ पनि त थिएन।
गर्भवती भएपछि उर्मिलाले काम गर्न सकिनन्। राजले थोरबहुत कमाएका थिए। हजारवटा इँटा बनाएको आठ सय पाउँथे। राम्रो दिन पर्यो र थकाइ लागेन भने राति १२ बजेसम्मै काम गर्थे। छोरी जन्मिने बेला उनले उर्मिलालाई बनेपाको घोडेचौर अस्पताल लगे।
‘७० हजार चानचुन त्यही बेला सकियो,’ उर्मिलाले भनिन्।
‘साहुसँग ३५ हजार ऋण लिएको थिएँ,’ राजले थपे, ‘एक जना दिदीसँग पनि २० हजार लिएको थिएँ।’
छोरीको न्वारनका दिन राजलाई बेस्मारी टाउको दुख्यो। उनी थला परे। कामज्वरो आउने र टाउको दुख्नेसम्म हुँदा उनी झ्याउलीमै सुते। उर्मिला पनि उठ्न सक्ने थिइनन्। त्यसैले, अस्पताल ल्याउने कोही पनि थिएन।
चैत ८ गते राजले रगत बान्ता गरेपछि भने सकी–नसकी उर्मिला उठिन्। उनीहरूसँग पैसा थिएन। एक हजार सापटी मागेर उनले पतिलाई वीर अस्पताल ल्याइन्। त्यसयता उनीहरूको बसाइ वीर अस्पतालमै छ। अस्पतालले बिरामी श्रीमानलाई निःशुल्क दिने खानाले उनी र उनकी छोरी पालिएका छन्।
यसअघि राजको अप्रेसन गर्न दुईपटक तयारी भइकेको थियो। औषधि नभएपछि फिर्ता ल्याए। ‘अप्रेसन छिटो भए छिट्टै निको हुन्थ्यो, त्यसपछि गरिखाने बाटो खुल्थ्यो,’ उर्मिलाले भनिन्।
आफूलाई जे भए पनि छोरी चिसो भुइँमा सुत्दा भने कटक्क मन खान्छ रे राजलाई। दिउँसो त उनले आफ्नै बेडमा छोरीलाई सुताउँछन्। छोरीसँग खेलेरै उनको दिन बित्छ।
‘यो अस्पताल बसाइबाट जतिसक्दो छिटो मुक्ति पाए हुन्थ्यो,’ उनले भने।