नेपाली काँग्रेसको संसदीय दलले पूर्णताः पाएको छ । पार्टीका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिमा थप पाँच जना सांसदलाई सदस्यको रुपमा मनोनयन गरेपछि कार्यसमितिले पूर्णता पाएको हो । पदेन सदस्यसहित काँग्रेसको संसदीय दल ३५ सदस्यीय हुने विधानमा व्यवस्था छ ।
नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७२) को धारा ११ को उपधारा २ (ङ) बमोजिम देहायलाई सभापति देउवाले मनोनयन गरेका हुन्।
कैलाली क्षेत्र नं ५ का दीर्घराज भाट, सङ्खुवासभा क्षेत्र नं १ का तारामान गुरुङ, बर्दिया क्षेत्र नं २ का सञ्जयकुमार गौतम, काभ्रेपलाञ्चोक क्षेत्र नं ३ का कञ्चनचन्द्र वादे र बझाङकी चन्द्रादेवी जोशी संसदीय दलको कार्यसमितिको सदस्ययमा मनोनीत भएका छन्।
नेता देउवाले यसअघि संसदीय दलको सचिवमा ध्रुव वाग्ले, कोषाध्यक्षमा मिनाक्षी झा, सदस्यमा चम्पादेवी खड्का र विष्णुमाया परियारलाई मनोनयन गरेका थिए। संसदीय दलको विषयगत समिति गठन गर्ने तयारी पनि भइरहेको दलका सचिव ध्रुव वाग्लेले जानकारी दिए।
संसद्मा पार्टीको भूमिकालाई प्रभावकारी गराउन समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्न भोलि बिहान ९ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको बैठक बस्ने वाग्लेले बताए। रासस